बार्सिलोना- स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडले बराबरी खेलेका छन्। सेमिफाइनलको पहिलो लेगको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका हुन्।
खेलमा अग्रता रियलले छैटौं मिनेटमै लिएको थियो। करिम बेन्जिमाले उपलब्ध गराएको पासमा लुकास भाज्क्युले गोल गरेका थिए।
पहिलो हाफमा १-० गोलले पछि परेको बार्सिलोनाले ५७ मिनेटमा बराबरी गोल फर्कायो। ब्राजिलियन खेलाडी माल्कोनले गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए।
खेलमा दुवै टिमका स्टार खेलाडी भने चल्न सकेनन्। बार्सिलोनाका फरवार्ड लिओनल मेसी खेलको ६३ मिनेटमा फिलिप काउटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए। चोटका कारण फिट हुनेमा शंका गरिएका मेसीले खेलमा कुनै जादू देखाउन सकेनन्।
अब दोस्रो लेगको खेल आगामी २७ फेब्रुअरीमा रियलको घरेलु मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।