काठमाडौं– ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतीक्षा र प्रकाशक बुकहिलविरुद्ध प्रहरीमा उजुरी परेको छ। उपन्यासमा बादी समुदायको अपमान गर्दै जातीय विभेद गर्न खोजेको भन्दै घोराही उपमहानगरपालिका–१३ दाङकी रञ्जिता नेपालीले महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी हुन्।
उनले उक्त उपन्यास छाप्ने बुकहिल प्रकाशनका कार्यकारी प्रमुखविरुद्ध पनि उजुरी दिएकी छिन्।
निवेदकले बादी समुदायको आत्मसम्मानमा चोट पुर्याउने खालका शब्द उपन्यासमा प्रयोग गरेको, जातीय विभेद तथा छुवाछुत गर्न खोजेको आरोप लगाएकी छन्।
२०६४ साउन ३१ देखि ४८ दिनसम्म अर्थात् असोज २८ गतेसम्मको लामो आन्दोलनपछि सरकार र बादी समुदायबीच बादी समुदायमा ठेस पुग्ने खालका शब्द प्रयोग नगर्ने सहमति भएको तर उक्त सहमतिविपरीत नथिया उपन्यासमा बादी समुदायलाई होच्याउने खालका शब्दहरु प्रयोग भएको निवेदनमा उल्लेख गरिएको छ।
उपन्यासका ९५ प्रतिशत कथा सत्य भएको दाबी लेखिकाले गर्नु र उपन्यासका पात्रको नाम आफूसँग मेल खानुले आफूमाथि थप चोट पुगेको भन्दै उनले प्रहरी परिसर टेकुमा उजुरी दिएकी हुन्।
उनले आफ्नो मन्जुरीबिनै आफ्नो र मृतक बुवा गुमानसिंहको नाम उल्लेख गरेर चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन्।
जातीय भेदभाव तथा तथा छुवाछुत (कसुर र सजाय) ऐनअनुसार जातीय भेदभाव खलबल्याउने काम गरेमा एक महिनादेखि एक वर्षसम्म कैद वा ५ सय रुपैयाँदेखि १० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ।
२०७४ माघमा नथिया बजारमा आएको थियो। बादी समुदायकी एक महिला पात्रको जीवन भोगाइलाई उपन्यासमा वर्णन गरिएको छ।
यता, उपन्यासकार प्रतीक्षाले फेसबुकमा लामो स्ट्याटस लेख्दै आफूमाथि लागेको आरोपको प्रतिकार गरेकी छिन्।
‘मलाई डर पाठकहरुसँग लाग्छ। पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ। होइन भने एउटा आइएनजिओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि, जिते पनि मभित्रको लेखक कहिल्यै डगमगाउँदैन,' उनले लेखेकी छन्, 'हुँदाहुँदा ३० को दशकको कथा लेख्दा ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग मेरो नाम जुधेकोले मेरो बेइज्जती भो भनेर हनुमानढोका प्रहरी परिसरमा उजुरी समेत दिन भ्याइछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।