वेलिङटन– टी–२० क्रिकेटमा भारतले रनको आधारमा अहिलेसम्मकै ठूलो हार बेहोरेको छ। बुधबार वेलिङटनमा भएको पहिलो टी–२० खेलमा घरेलु टिम न्युजिल्यान्डले भारतलाई ८० रनले पराजित गरेको हो।
न्युजिल्यान्डले दिएको २ सय २० रनको विशाल लक्ष्य पछ्याएको भारत ४ बल खेल्न बाँकी छदा १ सय ३९ रनमै अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले २९, विजय शंकरले २७, महेन्द्रसिंह धोनीले ३९ र हार्दिक पाण्ड्याले २० रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनर तथा कप्तान १ रनमा आउट हुँदा भारत सुरुवातमै दबाबमा आएको थियो।
भारतको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। फर्ग्युसन, सान्टनर र सोधीले २–२ विकेट लिए।
त्यसअघि टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम न्युजिल्यान्डले ६ विकेटको क्षतिमा २ सय १९ रन जोड्यो। न्युजिल्यान्डका लागि ओपनर टिम सेइफर्टले ८४ रन जोडे। उनले ४३ बलमा ७ चौका र ६ छक्का हिर्काए। कोलिन मुनरो र केन विलियमसनले ३४–३४ रनको योगदान दिएका थिए। रोस टेलरले १४ बलमा २३ र स्कट कुग्गेलेजिनले ७ बलमा ३ चौका र १ छक्का हिर्काउँदै नटआउट २० रन जोडे।
बलिङमा भारतका हार्दिक पाण्ड्याले २ विकेट लिए। भुवनेश्वर कुमार, खलिल अहमेद, क्रुनाल पाण्ड्या र युजभेन्द्र चाहलले १–१ हात पारे।
जितसँगै ३ खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।