काठमाडौं- पूर्वी तराईको राजनीतिमा होमिएर सादगीपूर्ण नेताको परिचय बनाएका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितको आत्मकथा आउने भएको छ।
पब्लिकेसन नेपालयले तराईवासीको महान् पर्व छठको अवसर पारेर 'सिंहदरबार बदल्ने संघर्ष' नामक पुस्तकको घोषणा गरेको हो ।
विगतमा मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिएको बेला पहिलोपटक मन्त्री बनेका पण्डितले छोटै समयमा चर्चा कमाएका थिए । तीव्र जातीय ध्रुवीकरणका बेला समाजलाई जोड्न खोज्ने सेतुका साथै भ्रष्टाचार र बेथिति नियन्त्रणमा कुर्लिने उनको साहस चर्चाको विषय बन्न पुग्यो।
सत्ता र शक्तिसँग सम्झौता नगर्ने साहस देखाएका पण्डितले भूमिगत हुँदा एमालेका लोकप्रिय नेता मदन भण्डारीसँगै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका रोचक भोगाइहरु आत्मकथामा पढ्न सकिने नेपालयले जनाएको छ।
‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं’, पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि सम्भावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउनेछ।’
पण्डितले युवा पत्रकार मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्।
पहिलोपटक मन्त्री भएपछि जताततै विसंगति र विकृति देखेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको सुनाउँदै पूर्वमन्त्री पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारीका साथ पुस्तकमा राखेको छु।’
उनले आफूले राम्रो वा नराम्रो गरेको छुट्याउने पाठकको हातमा छोडेको उनले बताएका छन्।
पुस्तक कात्तिकभित्रै पाठकसामु ल्याउने पब्लिकेशन नेपालयले जनाएको छ । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।