काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले हिंसा पिडित महिलाहरुको लागि सातै प्रदेशमा आवास गृह निर्माण कार्य जारी रहेको बताएकी छन्।
सात प्रदेश अन्तर्गत काठमाडौं सिफलमा केन्द्रीय स्तरको पुनर्स्थापना केन्द्र सुरु भइसकेको जानकारी संसदलाई गराएकी छन्। सिफलमा सञ्चालित पुर्नस्थापना केन्द्रलाई मंगला–सहना पुर्नस्थापना नाम दिइएको छ।
प्रदेश ३ को सिन्धुपाल्चोकमा पनि हिंसा पीडित महिलाका लागि आवास गृह बन्ने क्रममा रहेको बताइन्। आवास गृहका लागि अमेरिकी दुतावास र नेपाल सरकारबीच सम्झौता भएको छ।
विराटनगरमा पुनर्स्थापना केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताइन्। प्रदेश एकको पुनर्स्थापना केन्द्रलाई अमेरिकी दुतावासले सहयोग गरेको उनले जानकारी गराइन्।
निर्माण सकिएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरी त्यसको व्यवस्थापन गर्ने तयारीमा सरकार छ। प्रदेश ५ मा बर्दियामा बनेको भवनमा पीडित महिलाहरु बस्न सुरु गरिसकेको मन्त्री थापाले जानकारी गराइन्।
सातै प्रदेशमा हिंसा पीडित महिलाहरूको लागि आवास गृह बनाउनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको बजेट स्थानान्तरण गरिएको जानकारी गराइन्।
उक्त बजेट ७० लाख रुपैयाँ रहेको छ। अल्पकालीन आश्रय स्थलका लागि १७ जिल्ला छनोट गरिएको थापाले जानकारी गराइन्।
अल्पकालीन आश्रय स्थलमा सीप विकासको कार्यक्रम पनि सुरु गरिएको उनले प्रष्टाइन्। अल्पकालीन आश्रय स्थल भएका जिल्लालाई बढाएर ४२ पुर्याउने कार्य बजेट अभावले रोकिएको बताइन्।
हिंसा पीडित महिलाहरूका लागि सातै प्रदेशमा बनाउन लागिएको आवास गृहका विषयमा सांसदहरूको जिज्ञासाको जवाफमा थापाले उक्त जानकारी गराएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।