काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
'यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ,' आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने, 'मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएका छन् ।'
मैदानको आउटफिल्ड र ५ वटा पीच निर्माण सम्पन्न भइसकेको छ। म्याच अफिसियलहरु धनगढी आईपुगेका छन्। यस संस्करणमा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ। सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानीय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन्।
प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स रहेका छन्। रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ।
प्रतियोगिताको पुरस्कारमा २० प्रतिशत बढाइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ। त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन्। यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइने छ। प्रत्येक खेलका अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
अनलाइन पारखी दर्शकहरुका लागि यस पटक क्रिकेट फन्टासी लिगको पनि व्यवस्थापन गरिएको छ। साथै प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ। टिकट काटेर आउने दर्शकहरुका लागी गोलाप्रथा माध्यमबाट आर्कषक नगत तथा अन्य पुरस्कार को समेत व्यवस्था गरिएको छ।
पहिलो खेल माघ २६ गते शनिबार दिउसो १ बजे सुरु हुनेछ। प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गरिने छ। गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए।
प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ। दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५० रुपैयाँ, प्ले—अफमा ७० र फाइनलमा १०० रुपैयाँ तोकिएको छ। टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ। दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म नि:शुल्क बस सेवाको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।