काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गाउँ-गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका छन्।
राज्यमन्त्री यादवले सबै पालिकाको वडा तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा युवराज खतिवडाले सहयोग नगरेको गुनासो गरेका हुन्। मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएको बताएका हुन्।
बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुर्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। त्यसको जवाफ दिने क्रममा राज्यमन्त्री यादवले अर्थमन्त्री खतिवडालाई सो काममा सहयोग गर्न सचेत गराउन पनि समितिलाई आग्रह गरे।
राज्यमन्त्री यादवले सरकारले दिने एम्बुलेन्ससमेत अर्थ मन्त्रालयले थाहै नदिई स्वीकृति दिने गरेको भन्दै आपत्ति पनि जनाए। उनले सोही कारण एम्बुलेन्स लगायतका सेवा सञ्चालनमा पनि कठिनाइ भइरहेको समितिलाई जानकारी गराए।
त्यस अवसरमा राज्यमन्त्री यादवले सरकारले सबै जिल्लामा विशेषज्ञसहितको १५ सैयाको अस्पताल स्थापना गर्ने कामलाई अघि बढाइएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।