काठमाडौं- युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पारे। मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।
सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको उनले दोहोर्याए।
मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार व्यक्त गरे।
युएईविरुद्ध नेपालले ३ खेलको एकदिवसीय र ३ खेलकै टी–२० सिरिज समान २–१ ले जितेको थियो। दुवै सिरिज सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले २ सिरिज आफ्नो पक्षमा पारेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो।
नेपाली टिम सोमबार स्वदेश फर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।