काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली टिम सोमबार स्वदेश फर्किएको छ।
दुई वटा ऐतिहासिक सिरिज विजेता नेपाली टिम अपराह्न ४ बजे नेपाल आइपुगेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टिमलाई भव्य स्वागतको गरिएको थियो। राष्ट्रिय खेलकुद परिषदले क्रिकेटलाई रेड कार्पेट बिछ्याएर स्वागत गरेको थियो। राष्ट्रिय क्रिकेटरलाई रेड कार्पेटमा बिछ्याएर स्वागत गरिएको यो पहिलो पटक हो।
टिमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना,युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए। यस्तै विमानस्थलमा सयौं समर्थकको उपस्थिति थियो।
युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० सिरिज समान २–१ ले जितेको थियो। दुवै सिरिज सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो पक्षमा पारेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।