काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिम खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सिफारिस गर्ने भएको छ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले सोमबार त्रिभुवन विमानस्थलमा नेपाली टिमलाई स्वागत गर्दै पुरस्कार दिनका लागि सरकारसमक्ष सिफारिस गर्ने बताएका हुन्। उनले भने,'राष्ट्रिय टिमका खेलाडीलाई जनही ५ लाख दिन हामी सरकारलाई सिफारिस गर्नेछौं।'
यता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली टिमलाई स्वागत गर्दै टिमलाई विमानस्थलमै नगद पुरस्कार दिएका थिए। उनले राष्ट्रिय टिमका १६ खेलाडी र ४ अफिसियल गरी २१ जनालाई जनही १०–१० हजार रुपैयाँ प्रदान गरेका हुन्।
दुई वटा ऐतिहासिक सिरिज विजेता नेपाली टिम अपराह्न ४ बजे नेपाल आइपुगेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टिमलाई भव्य स्वागतको गरिएको थियो।
टिमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना,युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सदस्य सचिव विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए। यस्तै विमानस्थलमा सयौं समर्थकको उपस्थिति थियो।
युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो। दुवै सिरिज सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो पक्षमा पारेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो।
उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका थिए। रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका थिए। उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।