काठमाडौं- गोरखामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाई माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जितबहादुर घले, तमु परिषद्का केन्द्रीय सह–इन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्बरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जितबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङ लगायत छन्।
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको दाबी गरे। 'गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिस्ट र कांग्रेसबीचमा नै रह्यो। जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ,' उनले भने, ' तपाईंहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच तथा विचारले जित्ने विश्वास लिएको छु।’
माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित केन्द्रमा आएको बताए।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं १ का उम्मेदवार हरिराज अधिकारी लगायतका नेता उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।