काठमाडौं– पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको नेपाली टिम सोमबार दिउँसो स्वदेश फर्कदैछ।
युएइसँग खेलिएको तीन एकदिवसीय तथा तीन टी–२० दुवै सिरिज समान २–१ ले जितेको नेपाली टिम मिठा याद लिएर स्वदेश फर्कन लागेको कप्तान पारस खड्काले बताएका छन्।
'हामीले दुवै सिरिजका पहिलो खेल हार्यौ। तर पुनरागमन गर्न सफल भयौं', खड्काले भन्छन्, 'सबै खेलाडीले स्तरीय खेले। झन् अन्तिम खेलको फिल्डिङ अविश्वनिय थियो।'
उनले टिम राम्रो बन्दै गएको पनि खुसी व्यक्त गरे। उनले भने,'हामीले यो लय आगामी खेलहारु पनि जारी राख्नु पर्छ।'
कप्तान पारस अघि भन्छन्, 'हामीले राम्रो टिम पाएका छौँ, दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ, हाम्रा लागि यो सिरिज महत्वपूर्ण छ । विश्वकप छनोट नजिक छ । यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ । तीन-चार महीनादेखि तयारी थाले उत्कृष्ट नतिजा ल्याउँछौँ ।”
उनले करण केसी र अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गर्नुका साथै सोमपाल कामी र सन्दीप लामिछानेलगायतको भूमिकाको खलेर प्रशंसा गरे। पहिलो ओभरमा सन्दीपले धेरै रन खर्चे पनि दोस्रो ओभरमा राम्रो बलिङ गरे। 'आजको जितको आधार फिल्डिङ हो। प्रदर्शनबाट एकदमै खुशी लागेको छ', उनको भनाइ छ।
यता युएईका प्रशिक्षक डगी ब्राउनले नेपालको प्रदर्शनबाट युएईले सिक्नु पर्ने प्रतिक्रिया दिए। उनले नेपालको 'टिम वर्क' उत्कृष्ट रहेको भन्दै भने,'नेपालले अविश्वसनीय रुपमा उत्कृष्ट फिल्डिङ गर्यो। असहज परिस्थितिमा नेपालले सम्हालिएर खेल्यो।'
युएईले भने दबाबमा खेलेको उनले प्रतिक्रिया दिए। ६ वटै खेलमा जित निकाल्ने सक्ने परिस्थिति निर्माण भए पनि युएईले सम्हालिएर खेल्न नसक्दा हारेको प्रशिक्षक ब्राउनको भनाइ छ। उनले दबाबमा रहेको बेला युएईले क्याच मिस गरेको र खराब फिल्डिङ गरेको बताए।
प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका थिए। रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका थिए। उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।