काठमाडौं– तेस्रो तथा निर्णायक टी–२० खेलमा नेपालले युएईलाई १ सय ५ रनको लक्ष्य दिएको छ। वर्षा कारण १० ओभरमा घटाइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको हो।
नेपालका लागि कप्तान पारस खड्काले २९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए। ओपनिङमा आएका कप्तान पारसले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सन्दीपले ११ बलमा ३ छक्का प्रहार गरेर नेपालको इनिङ उकासेका थिए। विनोद भण्डारीले १३ बलमा १० रन जोडे भने करण केसीले ५ बल खेल्दा १ छक्का हिर्काएर १० रनको योगदान दिए।
ओपनिङमा आएका पवन सर्राफ खाता नै खोल्न नपाइ चौथो बलमा आउट भएका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन जोडेर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी २ रनमै पेभिलियन फर्किएका थिए।
बलिङमा युएईका कप्तान मोहमद नावीद, सुल्तान अहमेद र अमिर हायतले २–२ विकेट लिए।
आजको खेलमा जित हात पार्ने टिमले ३ खेलको सिरिज कब्जा गर्नेछ। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। त्यसैले अन्तिम खेल निर्णायक बनेको हो।
नेपालका लागि सधैं झै ब्याटिङकै चुनौती देखिएको छ। यसअघि खेलिएका दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो। पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३२ रन मात्र बनाउन सकेको थियो। दोस्रो खेलमा पनि १ सय ८ रनको लक्ष्य पछ्याए पनि नेपालले मुस्किलले जित हात पारेको थियो।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २-१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए।
नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ। बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।