काठमाडौं- नेपाल र युएई बीचको निर्णायक तथा अन्तिम टी-२० खेल वर्षाका कारण प्रभावित भएको छ।
दुबईको आइसिसी एकेडेमी मैदानमा दिउँसो २:४५ लाई निर्धारित खेल वर्षा र हावाहुरी चलेपछि प्रभावित बनेको हो। जसका कारण टस हुन सकेको छैन। इमिरेट्स क्रिकेटले वर्षाका कारण टस ढिला भएको जनाएको छ। यता युएईका पत्रकार पाउल रेड्लीले हावाहुरी र भारी वर्षाका कारण दुवै टिमले वार्मअप पनि गर्न नपाएको बताएका छन्।
अहिले भने वर्षा रोकिएको छ। पीचमा राखिएको कभर हटाइको छ भने नेपालका कप्तान पारस खड्का र युएईका प्रशिक्षक डोगी ब्राउनले मैदान निरिक्षण गरेका छन्। अब आधा घण्टामा टस हुने छ भने निर्धारित २० ओभरबाट घटाइएर खेल हुनेछ।

आजको खेलमा जित हात पार्ने टिमले ३ खेलको सिरिज कब्जा गर्नेछ। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। त्यसैले अन्तिम खेल निर्णायक बनेको हो।
नेपालका लागि सधैं झै ब्याटिङकै चुनौती देखिएको छ। यसअघि खेलिएका दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो। पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३२ रन मात्र बनाउन सकेको थियो। दोस्रो खेलमा पनि १ सय ८ रनको लक्ष्य पछ्याए पनि नेपालले मुस्किलले जित हात पारेको थियो।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २-१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए।
नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ। बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।
यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।
नेपाली टिम– पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा
युएई टिम– मोहमद नावीद (कप्तान), मोहमद उस्मान, अस्फाक अहमेद, चिराग सुरी, सइमान अनवार, मोहमद बोता, गुलाम साबेर, इमरान हइदर, तहिर मुग्हाल, अमिर हायत, जहूर खान, क्वादीर अहमेद, फावाद नवाज, अब्दुल शाकूर, शुल्तान अहमेद, सिपी रिजवान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।