शुक्रबारबाट देशभरका सिनेमा हलमा दिवाकर भट्टराईद्वारा निर्देशित ‘ऐश्वर्य’ रिलिज भएको छ। ‘जीवनसाथी’ तथा ‘स्टुपिड मन’ निर्देशन गरिसकेका भट्टराईको यो तेस्रो फिल्म हो। विशेषगरी प्रेमकथामा आधारित सिनेमा बनाउन मन पराउने भट्टराई भुवन केसीको निर्देशन रहेको ‘ड्रिम्स’ मा एसोसिएट निर्देशक थिए।
भट्टराईले आफ्नो तेस्रो फिल्ममा दुई जोखिम उठाएका छन्। एउटा डेब्यू अभिनेत्री दीपिका प्रसाईंलाई नेपाली सिने जगतमा सम्भावित प्रतिभावान् नायिकाका रूपमा स्थापित गर्नुछ भने अर्को लामो अमेरिका बसाइपछि पुनः नेपाली फिल्ममा लय समात्न खोजेका अभिनेता रमेश उप्रेतीको अगाडिको बाटो स्पष्ट पारिदिने चुनौती छ। यिनै चुनौतीका साथ नयाँ सिनेमा तयार गरेका भट्टराईसँग फिल्म रिलिजको पूर्वसन्ध्यामा नेपाल लाइभका अशेष अधिकारीले गरेको कुराकानी:
तपाईंले गर्दै आएका फिल्मभन्दा ‘ऐश्वर्य’मा के फरक छ?
फरक छ कि छैन भन्ने कुरा मैले दर्शकको हातमा छोडिदिएको छु। ट्रेलर हेर्नेमा केही फरकपन छ कि भन्ने आशा रहेको हुनुपर्छ तर अत्यधिक आशा नराखौं। एउटा नेपाली मेकरले बनाएको फिल्म हो भनेर हेर्दा केही फरक र राम्रो लाग्नेछ भन्ने मेरो विश्वास छ।
तपाईंको फिल्मको बलियो पक्ष के हो?
मेकिङ, कलाकारको प्रस्तुति, कथा र स्क्रिन प्ले।
फिल्मले दर्शकको अपेक्षा पूरा गर्छ कि गर्दैन?
अपेक्षा व्यक्तिपिच्छे फरक हुन्छ। अहिले यत्ति भनूँ दर्शकहरू निराश चाहिँ हुनुहुनेछैन।
आजसम्मको करियरग्राफमा ‘ऐश्वर्य’ कहाँ उभिन्छ?
फिल्मपिच्छे म राम्रो हुँदै गइरहेको छु। त्यसैले ‘ऐश्वर्य’ मेरा अरू फिल्मभन्दा माथि नै छ।
तपाईंको फिल्ममा स्क्रिन प्ले बलियो छ कि प्रस्तुति?
प्रस्तुति तगडा छ। स्क्रिन प्ले भयंकर छ भन्दिनँ तर, त्यसमा पनि केही न केही नयाँ पाउनुहुनेछ।
‘ऐश्वर्य’मा नयाँ नायिका किन?
हुन त चलिरहेकै अनुहार लिएको भए पनि हुन्थ्यो। फिल्मको कथामा नयाँ हुँदा धेरै राम्रो हुने भएकाले र दर्शकले चरित्रलाई चाँडै रिलेट गर्नुहुन्छ भनेर नै हो।
नायिकाको रूपमा दीपिकामा कस्तो क्षमता पाउनुभयो?
उनको पहिलो फिल्म हो। पहिलो फिल्ममा एउटा काँचो मान्छेको कोणबाट हेर्दा धेरै राम्रो काम गरेकी छिन्। उनले अझ सिकेर आफूलाई परिपक्व बनाउनु जरूरी छ। उनमा नयाँ कुरा सिक्ने क्षमता एकदमै राम्रो छ।
अमेरिकाबाट फर्केपछि रमेश उप्रेतीले खेलेको ‘ब्रासलेट’ लाई दर्शकले मन पराएनन्, रूचाएनन्। यसमा खास के छ?
उहाँ फिल्मको निर्माता पनि हो। यस फिल्मले दर्शक कन्भिन्स्ड हुनेछन्। यसअघिका उहाँका फिल्मभन्दा बिलकुल नयाँ रमेश उप्रेतीलाई दर्शकले पाउनुहुनेछ। उहाँ लुक्स र अभिनयमा फरक देखिनुहुनेछ।
नेपाली निर्देशकहरू किन नयाँ काम गरिरहेका छैनन्। कि जोखिम मोल्न डराउँछन्?
सबैले कोसिस गरिरहेका छन्। केही न केही गरिरहे जस्तो लाग्छ। तर जस्तो हुनुपर्ने हो त्यो गर्न सकिरहेका छैनौं। हामी फिल्मको फाइनेस्ट मेकिङमा अझै पछाडि छौं।
नयाँ गर्नेभन्दा पनि जे चल्यो त्यस्तैको पछाडि लाग्ने लहर चल्छ किन?
फिल्मको बजार सबैभन्दा ठूलो कुरा हो। प्रोडक्सनमा बिस्तारै बढोत्तरी हुँदैछ। निर्देशकको सोच अनुसारको लगानी गर्ने निर्माता छैनन्। सबै सेफ साइड खोजिरहेका छन्। त्यसैले जे चलिरहेको छ, बिक्री भइरहेको छ, त्यही नै बेचिरहेका छन्। म आफै पनि लभस्टोरी चल्ने भएर यसमै फोकस छु।
आफू कुन कोटीको निर्देशकमा पर्छु जस्तो लाग्छ- उच्च, मध्यम, सामान्य?
उच्चतममा चाहिँ म पर्दिनँ। बस्, यति भन्छु म एउटा केही राम्रो गर्न कोसिस गरिरहेको निर्देशक हो।
दर्शकको हिसाबले ‘ऐश्वर्य’लाई कति रेट गर्नुहुन्छ?
म १० मा ७ दिन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।