काठमाडौं– संवैधानिक परिषद्को बैठकको निर्णय विरुद्ध सर्वोच्च जाने बताएको प्रमुख प्रतिपक्ष दलले त्यसको तयारी भने गरेको छैन।
माघ ६ मा बसेको परिषदको बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवालाई आमन्त्रण नगरिएको भन्दै सरकारसँग कांग्रेस रुष्ट भएको थियो। संविधान अनुसार ४८ घण्टाअघि परिषद सदस्यहरुलाई जानकारी गराउनुपर्ने व्यवस्था सरकारले उल्लंघन गरेको कांग्रेसको ठहर थियो ।
माघ १३ मा बसेको केन्द्रीय समितिको बैठकमा यसै विषयमा मात्रै छलफल भएको थियो। विपक्षी दलका नेता बिना नै गरिएको निर्णय असंवैधानिक भएकाले सरकारको निर्णयको विरोधमा सर्वोच्चमा मुद्दा दायर गर्ने बताइएको थियो।
उक्त बैठकको निर्णयमा ‘प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्पराविपरितको घटना’ भएको उल्लेख गरिएको थियो।
केन्द्रीय समितिको बैठकमा कांग्रेस नजिकको कानुन व्यवसायी संगठनका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीलाई बोलाएर परामर्श लिइएको थियो। प्रजातान्त्रिक लयर्स एसोसियसनका अध्यक्ष अधिकारीले कानुनी प्रावधानका बारेमा जानकारी दिएको बताए। उनले भने ‘परामर्शको लागि बोलाइएको थियो। कानुनी उपचारका बारेमा सल्लाह दिएको हुँ।’
मुद्दा दायर प्रमुख प्रतिपक्ष दलका नेता देउवाले नै गर्नुपर्ने अधिकारीले बताए। केन्द्रीय समितिको बैठकमा परामर्श दिएपछि पछिल्लो समय भने मुद्दा बारे थप कुरा नभएको उनले बताए।
सहमहामन्त्री डा प्रकाश शरण महतले सोमबारको आन्दोलनको तयारीमा रहेकाले संवैधानिक परिषदको निर्णय बारे थप छलफल हुन नसकेको बताए।
पूर्व घोषित आन्दोलन अनुसार कांग्रेसले सोमबार सरकार विरुद्ध देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ। राजनीतिक मुद्दाका रुपमा संवैधानिक परिषदको विषयलाई कांग्रेसले सोमबारको प्रदर्शनमा उठाउने तयारी गरेको छ।
माघ ६ मा बसेको संवैधानिक परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदीलाई सिफारिस गरेको थियो। साथै बैठकले मधेसी आयोगमा डा विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्षमा सिफारिस गरेको थियो।
यो पनि पढ्नुहोस्
संवैधानिक परिषद्को निर्णयविरुद्ध कांग्रेस सर्वोच्च जाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।