काठमाडौं– संवैधानिक परिषदले माघ ६ गते गरेको निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई लाई जानकारी नदिई सवैधानिक परिषद्ले गरेको निर्णय विरुद्ध कांग्रेसले कानुनी उपचार खोज्न लागेको हो।
यस विषयमा कानूनी परामर्शको लागि कांग्रेस नजिकका कानुन व्यवसायीहरुसँग आज परामर्श गरिएको छ। सभापति देउवाले पार्टी निकट लोकतान्त्रिक कानुन व्यवसायी समूह (डिएलए)का अध्यक्ष योगेन्द्र अधिकारीसँग आवश्यक परामर्श लिइसकेका छन्। सम्भवत: आइतबार नै मुद्दा दायर हुने बताइएको छ।
के भएको थियो?
माघ ६ मा संवैधानिक परिषदको बैठक डाकिएको थियो। परिषदको बैठकमा प्रमुख प्रतिप्रक्ष दलका नेता उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने प्रधानन्यायाधीश, सभामुख, कानुनमन्त्री, प्रतिपक्ष दलका नेता लगायत सदस्य रहेका हुन्छन्। मुख्य सचिव परिषदको सचिव हुन्छन्।
परिषदको बैठक बस्नुअघि ४८ घण्टाअघि परिषद सदस्यहरुलाई पत्र दिनुपर्ने कानुनी व्यवस्था छ। त्यस दिनको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित भएनन्। देउवा आफ्नै रुचिले बैठकमा अनुपस्थित भएका होइनन्।
उनले परिषद बैठक बस्ने सूचना नै नपाएको बताएका छन्। माघ ९ मा शीर्ष तहका नेताहरुलाई आफ्नै निवासमा डाकेर देउवाले संवैधानिक परिषदको बैठकको जानकारी नै नगराइएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।