एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुनर्गठित मन्त्रिमण्डलमा निर्मला सिथारमनले रक्षामन्त्रीको जिम्मेवारी सम्हालेकी छिन्। उद्योग तथा वाणिज्य राज्यमन्त्री रहेकी भाजपा नेतृ निर्मलाले रक्षामन्त्रीको जिम्मेवारी पाएकी हुन्।
भारतमा महिलाले पूर्ण रुपमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो। यसअघि पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले आंशिक रुपमा रक्षा मन्त्रालय चलाएकी थिइन्।
'सीमाक्षेत्रको विषयमा पाकिस्तान र चीनसँग भारतको सम्बन्ध बिग्रिएको बेला स्वच्छ छवि भएको र जिम्मेवारीका लागि आँट गर्ने व्यक्ति नियुक्ति गर्नु राम्रो विषय हो,' इकोनोमिक टाइम्स पत्रिकाको विचार पृष्ठमा उल्लेख छ।
निर्मलाको नियुक्तिले प्रंशसासँगै आलोचना पनि खेपेको छ। रक्षा क्षेत्रको बजेट कार्यान्वयन र भारतीय सेनाको आधुनिकीकरण चुनौतीपूर्ण रहेको अवस्थामा महिलालाई नेतृत्व दिनु अचम्मलाग्दो भएको कतिपयको टिप्पणी छ।
आलोचनाका बीच नवनियुक्त रक्षामन्त्री निर्मलाले भने आफ्नो नियुक्तिले भारतमा महिलाको अवस्थाबारे गतिलो सन्देश प्रवाह गर्ने प्रतिक्रिया दिएकी छिन्।
'मेरो नियुक्तिले भारतमा महिलाको अवस्थाबारे जयजयकार पाउनेछ,' उनले बिबिसीसँग भनेकी छिन्।
नरेन्द्र मोदीको क्याबिनेटमा महिलाहरुको उपस्थिति विगत एक दशकयताकै राम्रो छ । मोदी मन्त्रिमण्डलमा ६ महिला क्याबिनेट मन्त्री छन्।
भारतीय सेनाको कुल संख्यामध्ये महिलाको हिस्सा २.५ प्रतिशत छ। रक्षामन्त्रीमा निर्मला आएसँगै अबका दिनमा महिलाले समेत लडाकु भूमिका पाउने र सेनामा महिलाको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।