हामी स्रोत र साधनको कमीले पछि परेका होइनौं, बरु भएका स्रोत र साधनहरूको उचित व्यवस्थापन गर्न नसक्नाले हो। भएका स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्ने समस्या देशका सबै क्षेत्रमा अझ खासगरी पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रमा सर्वाधिक छ। समुदायमा उपलब्ध स्रोत साधनको उचित प्रबन्ध र सदुपयोग गरिए बजेटको आधा रकमले नै निर्धारित योजना सम्पन्न गर्न सकिन्छ। यसरी पूरा भएका आयोजनाका उदाहरण प्रशस्त छन्।
नेपालमा पूर्वाधार विकाससम्बन्धी साना साना काम गर्ने सयौं गैरसरकारी संस्था छन्। उनीहरूको व्यवस्थापनमा धेरै आयोजना साठी प्रतिशतसम्म बजेट लगानीमा सम्पन्न भएका छन्। समुदायका आवश्यकताका आधारमा तर्जुमा गरिएका र उनीहरूकै सहभागितामा सम्पन्न आयोजनाप्रति समुदायको धेरै अपनत्व हुने पाइएको छ। यसरी सम्पन्न गरिने आयोजनामा प्रारम्भमा समय र बजेट बढी लागेजस्तो देखिए पनि दिगोपना र संरक्षणका लागि राम्रो उदाहरण बनेको पाइन्छ।
कुनै पनि आयोजना तर्जुमादेखि सफल सञ्चालनसम्म व्यवस्थापन विशेषज्ञको आवश्कता पर्छ। आयोजना तर्जुमाको चरणदेखि नै सम्बन्धित विषय, व्यवस्थापन र प्राविधिक विशेषज्ञ संलग्न भएमात्र आयोजना सफल हुने सम्भावना रहन्छ। समुदाय नै त्यस्ता आयोजनाका जननीका रुपमा रहनुपर्छ। तर समुदायलाई कुशल अभिभावकका रुपमा तयार पार्न सम्बन्धित विषयविज्ञ, व्यवस्थापक र प्राविधिकले धेरै समय खर्चनु पर्ने हुन्छ, अनि मात्र त्यस्ता आयोजनाहरू सफल हुनेमा कुनै शंका रहँदैन।
समुदायलाई दिनहुँ अत्यावश्यक धेरै कुरामध्ये कसैलाई सानो घाउ वा चोटपटक लागेदेखि कसैको मृत्यु नहुन्जेलसम्म गर्नुपर्ने स्वास्थ्यको हेरचाह हो। स्वास्थ्य पूर्वाधार सबै समुदायका हरेक सदस्यले चासो राख्नुपर्ने विषय पनि हो। तर अहिलेसम्म हामीले समुदायका स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकतालाई ठुल्ठूला विश्वविद्यालयमा अध्ययन गरेका विशेषज्ञका दृष्टिकोणबाट नीति निर्माण गरेका छौं। एउटा सीमासम्म विशेषज्ञको राय आवश्यक नै हुन्छ, तर समुदायको वस्तुगत अवस्था, क्षमता र मनोविज्ञान र आवश्कताको विश्लेषण नगरी बनाइने नीति तथा कार्यक्रम कहिलेकाहीं बालुवामा पानी हाले सरहमात्र हुन जान्छ।
त्यसैले आजको प्रमुख आवश्यकता समुदायका लागि कुनै पनि नीति निर्माण गर्दा उनीहरूसँग बसेर आवश्यकता पहिचान गर्दै समुदायको मनोविज्ञान अनुसार स्वास्थ्य कार्यक्रममा उनीहरूलाई सक्रिय रुपमा संलग्न÷सहभागी गराउनु हो।
यसका लागि स्वास्थ्यसम्बन्धी प्राविधिक ज्ञान भएका व्यवस्थापन विशेषज्ञको आवश्यकता पर्छ। अहिलेको संघीय शासन प्रणालीअन्तर्गत स्वायत्त स्थानीय सरकारको संरचनामा यस्ता स्वास्थ्य व्यवस्थापन विशेषज्ञलगायत विद्यार्थीको ठूलो भूमिका रहन सक्छ। हरेक परिवार र उनीहरूका सदस्यको स्वास्थ्यसम्बन्धी आवश्यकता फरक फरक हुन सक्छन्। परिवारको आवश्यकता पहिचान गर्न उनीहरूसम्म जाँदा यस्ता व्यवस्थापकले जनचेतनासम्बन्धी कार्यक्रम सँगै लैजान सक्छन्। हरेक गाउँपालिका÷नगरपालिकामा प्रत्येक वडाका टोल–टोलका वस्तुगत आवश्यकता ध्यानमा राखेर योजनाका खाका आउँछन्। तिनलाई स्वास्थ्य नीतिमा समावेश गर्दै योजना र कार्यक्रमको ढाँचा निर्माण गर्नु पर्छ। सबै जनप्रतिनिधि यसबारे विज्ञ नहुन सक्छन्। त्यसैले हरेक टोलका स्वास्थ्य कार्यक्रम निर्माण स्वास्थ्य व्यवस्थापक, जनस्वास्थ्य तथा चिकित्सा विशेषज्ञ र विद्यार्थी बसेर गर्नुपर्ने हुन्छ।
परम्परागत प्रशासनिक शैलीको जागिरे ढाँचा र मनस्थितिले नेपालका गाउँ÷सहरको स्वास्थ्य स्थिति सुधार्न कठिन छ। प्रशासनिक शैलीको १०–५ बजेको हाजिरीले प्रशासन चल्न सक्ला तर स्वास्थ्य कार्यक्रम प्रभावकारी रुपमा सफलतापूर्वक चलाउन सकिँदैन। त्यसैले बढीमा पाँच वर्षका लागि निश्चित समुदायको निश्चित उद्देश्य पूरा गर्न उनीहरूको आवश्यकता पहिचान गरेर आयोजना (कार्यक्रम) तर्जुमा गरी स्वास्थ्य व्यवस्थापक, जनस्वास्थ्य र चिकित्सा विशेषज्ञलाई कामको जिम्मा लगाउनु आजको मुख्य आवश्यकता हो। स्वास्थ्यसम्बन्धी कामका नाममा सहरका ठूला होटलमा गोष्ठी र सेमिनार नगरिए केही बिगँ्रदैन, तर गाउँ÷टोलको चौतारीमा र वडा कार्यालयमा भने घनिभूत छलफल हुन आवश्यक छ। यस्ता छलफल गर्न सक्षम स्वास्थ्य व्यवस्थापक अहिलेको आवश्यकता हो।
अहिले देशका ठूला÷साना अस्पतालको व्यवस्थापन सामान्यतया चिकित्सक, जनस्वास्थ्य, व्यवस्थापन वा जनप्रशासन समूहका व्यक्तिले गर्दै आएका छन्। अस्पताल धेरै जटिल निकाय हो। यसका हरेक विभागलाई स्वास्थ्य सेवा व्यवस्थापनको वैज्ञानिक दृष्टिकोणबाट नियाल्नु पर्छ। विशेषगरि गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गरी अधिकतम उपलब्धि हासिल गर्न र सेवा प्रवाह दिगो पार्न स्वास्थ्य सेवा व्यवस्थापकको ठूलो भूमिका रहन्छ।
परिवार र व्यक्तिको आवश्यकतादेखि राज्यसँग उपलब्ध कोषसम्म चिकित्सा, प्राविधिक, आर्थिक, मानवशास्त्र, जनसंख्याविद्, योजनकार, नीति निर्माण, गुणस्तर निर्धारण, तथ्यांकशास्त्रजस्ता विभिन्न कोणबाट विश्लेषण गरी उपयुक्त स्वास्थ्य नीति निर्माणदेखि कार्यान्वयन गर्न स्वास्थ्य व्यवस्थापकको नेतृत्व आवश्यक पर्छ। उनीहरू यी सबै विषयका विज्ञ नभए पनि यी विविध दृष्टिकोणबाट विश्लेषण गरी उपयुक्त स्वास्थ्य नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छन्। साथै आवश्यकताअनुसार कुन विशेषज्ञसँग परामर्श गर्नुपर्छ उनीहरू तत्काल निर्णय गर्न सक्छन्।
गैरसरकारी स्वास्थ्य संस्थाहरूले पछिल्लो समय स्वास्थ्य सेवा व्यवस्थापकलाई स्थान दिन थालेका छन्। नेपालमा यो विषय प्रवेश र अध्ययन हुन थालेको २ दशक नभए पनि दक्षिण एसियामा नै गर्वलायक विकास भएको छ भन्नु अत्युक्ति नहोला।
सरकारी स्वास्थ्य संस्थाहरूले पनिस्वास्थ्य सेवा व्यवस्थापकलाई संलग्न गरी आफ्ना सेवा, कार्यक्रम र आयोजना सञ्चालन गरे छोटो समयमा धेरै उपलब्धि हासिल हुनसक्छ। परम्परागत शैलीमै काम गरिरहे थोरै उपलब्धिसहित स्वास्थ्य आयोजनाहरूको लगानी बढ्ने देखिन्छ। त्यसैले स्वास्थ्य समस्या पहिचानका लागि स्थलगत र वस्तुगत अध्ययनपछि बर्सेनि र पाँचबर्से नीति तथा योजना तर्जुमा गरी स्वास्थ्य सेवा विशेषज्ञ तथा जनस्वास्थ्य विशेषज्ञलाई जिम्मेवारी दिए प्रभावकारी सकारात्मक परिणाम निस्कनेमा विश्वस्त हुन सकिन्छ।
(लेखक स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञ हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।