नुवाकोट- लोकतान्त्रिक गठबन्धनका कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नुवाकोटका ११ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब नुवाकोटमा ४६ उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ।
आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भए पनि ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका हुन्। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समयमा बुधबार नुवाकोटको प्रतिनिधिसभा सदस्यको दुई निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको चार निर्वाचन क्षेत्रबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।
यसअघि मनोनयन दर्ता गरेर उम्मेदवारी फिर्ता लिएका सबैले लोकतान्त्रिक गठबन्धनका कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन्। एकीकृत राप्रपा राष्ट्रवादीबाट उम्मेदवारी दिएकी निवर्तमान सांसद् राज्यलक्ष्मी पाण्डेले कांग्रेस उम्मेदवारको समर्थनमा उम्मेदवारी फिर्ता लिएको र पार्टी नै परित्याग गरी कांग्रेस प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत घोषणा गरिन्।
क-कसले लिए उम्मेदवारी फिर्ता?
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (माले) का जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नरेन्द्रप्रसाद फुयाँल, नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ, प्रदेशसभा क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक) का दामोदर थापा क्षेत्री, प्रदेशसभा सदस्य क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक) का दीपककुमार राई, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जनलोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा (प्रजातान्त्रिक) का मधुसुदन रिसाल, प्रदेश क्षेत्र नं. १ बाट राप्रपा (प्रजातान्त्रिक) का शिवप्रसाद अधिकारी, प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्का।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।