काठमाडौं– मानव बेचबिखन गर्ने उद्देश्यसहित भारत हुँदै विभिन्न तेस्रो मुलुक लैजान लागिएका ४० नेपाली युवतीसहित १ सय १ जनाको उद्धार गरिएको छ। युवती बेच्ने गिरोहका ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
भारतीय प्रहरीको सहयोगमा भारतको मणिपुरबाट महिलाको उद्धार गरिएको हो।
भारतीय प्रहरीले यो अहिलेसम्मकै ठूलो अपरेसन भएको जनाएको छ। मणिपुर कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका सदस्य केइशम प्रदीपकुमारले भने, ‘यो सबैभन्दा ठूलो रेसक्यु अपरेसन हो। जहाँ एकैपटक सयौं महिलाको उद्दार गरिएको छ।’
भारतको मोरिच सहरबाट प्रहरीले बेचबिखन गर्न लगिएका ४० महिलाको उद्धार गरेको थियो। टेनगोपाल जिल्लाका प्रहरीले पीडित महिलालाई मोरिच सहरका होटलबाट उद्धार गरेको जनाएको छ।
मणिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा मणिपुरको इम्फालबाट नेपाली महिलासँगै अन्य देशका युवतीको समेत उद्धार गरिएको हो।
मानव बेचबिखन गर्ने गिरोहले उनीहरुलाई मणिपुरबाट म्यान्मार हुँदै गैरकानुनी रुपमा इराक र दुबई पुर्याउने योजनामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मणिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुबईलाई नयाँ रुटका रुपमा मानव तस्करहरुले प्रयोग गर्ने गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।