काठमाडौं- पत्रकार नारायण वाग्लेको तेस्रो कृति 'कोरियाना कफी गफ' सार्वजनिक हुने भएको छ।
समाचार कक्षबाटै सुरु भएको स्तम्भ ‘कफीगफ’लाई निरन्तरता दिँदै उनले ‘कोरियाना कफी गफ’ लिएर आउने भएका हुन्।
अढाई दशकभन्दा लामो समय पत्रकारिताको घेरामा बिताएका वाग्लेले यसबीच नेपाली समाजका भोगाइहरुको सूक्ष्म अवलोकन र विश्लेषण गर्दै आएका छन्।
समाचारको खोजीमा डुलिहिँड्ने संवाददाता रहँदै उनले आफूभित्रको साहित्यिक व्यक्तित्वलाई कान्तिपुर दैनिकको कोसेलीमा नियमित ‘कफीगफ’ मार्फत् प्रकट गर्न थालेका थिए।
अघिल्ला दुई उपन्यासभन्दा यो बेग्लै ‘सिर्जनशील गैरआख्यान’ हुने वाग्ले बताउँछन्।
‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनले भने, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं।’ यस्तो अवस्थामा पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्ने उनको दाबी छ।
फेब्रुअरी दोस्रो साता सार्वजनिक हुने पुस्तकलाई पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।