काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालविरुद्धको आगामी सिरिज आइसिसी एकेडेमी बाहेक अन्य मैदानमा खेलाउन आग्रह गरेका छन्।
शुक्रबार युएईविरुद्धको दोस्रो टी–२० खेल हेर्न आइसिसी एकेडेमी मैदान पुगेका सयौं नेपाली समर्थक भित्र छिर्न नपाएपछि पारसको यस्तो प्रतिक्रिया आएको हो।
नेपाल र युएईबीचको खेलका लागि १८ सय नेपाली समर्थक मात्र आइसिसी एकेडेमी मैदानमा छिर्न पाएका थिए। यद्यपी सयौं समर्थक मैदान छिर्न पाएका थिएनन्। मैदानको क्षमता भन्दा बढी दर्शक खेल हेर्न पुगेपछि आयोजकले समर्थकलाई भित्र छिर्न नदिएको हो। मैदानमा दर्शक क्षमता बढी भएका कारण भित्र छिर्न नपाएको यो पहिलो पटक हो।
कतिपय नेपाली समर्थकले अन्तर्राष्ट्रिय सिरिज दुबई स्पोर्ट्स सिटी, अबुधावी वा सारजाहमा नगरेको भन्दै प्रश्न उठाएका थिए। कप्तान खड्काले एकेडेमीको मैदान राम्रो भएको बताए पनि दर्शकका लागि अबका सिरिज अर्को मैदानमा खेलाउन आग्रह गरेका हुन्।
'मैदान राम्रो छ। सबै सुविधा उपलब्ध छ। पिच र अन्य पूर्वाधार विश्व स्तरिय छ। नेपालका धेरै समर्थक छन्। आगामी दिन यो भन्दा राम्रो व्यवस्था गर्न सकिन्छ। राम्रो खेलका लागि आगामी दिनमा दर्शकलाई हेर्न मिल्ने स्थानमा खेल होस्,' कप्तान पारसले युएईको पत्रिका द नेसनललाई भनेका छन्।
'धेरै समर्थक खेल पछ्याइरहेका हुन्छन्। भेन्यू भन्दा पनि खेल हेर्न चाहाने सर्थकलाईका लागि हेर्न स्थान उपलब्ध होस्।'
शुक्रबार भएको दोस्रो टी–२० खेलमा दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ र अभिनास बोहोराको उत्कृष्ट बलिङमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
जितसँगै नेपालले ३ खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको थियो। यसअघि सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो।
युएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले नटआउट ४७ रन जोडे।
अब निर्णायक तेस्रो टी–२० खेल आइतबार हुनेछ। तेस्रो खेल जित्ने टिमले सिरिज कब्जा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।