काठमाडौं– दोस्रो टी–२० खेलमा युएईले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गरेको छ। नेपालले सुरुवाती ४ विकेट गुमाइसकेको छ।
कप्तान पारस खड्का दोस्रो बलमै आउट हुँदा नेपाललाई सुरुवाती झड्का लागेको थियो। पारसलाई युएईका कप्तान मोहमद नावीदले आउट गरेका थिए। अर्का ओपनर प्रदीप ऐरी ८ रनमा आउट भएका थिए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रन बनाएर खेलिरहदा सुल्तान अहमेदको बलमा एलबिडब्लूको धरापमा परेपछि नेपाल संकटमा परेका थिए। तेस्रो नम्बरमा ब्याटिङमा आएका करण केसी २० रनमा आउट हुँदा नेपालले ८ ओभरमा ३९ रन जोड्दा ४ विकेट गुमाएको थियो।
अहिले दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा ब्याटिङ गरिहरेका छन्।
त्यसअघि दुबईको आइसिसी एकेडेमीमा टस जितर पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छदा १ सय ७ रनमा अलआउट भयो।
युएईका लागि ओपनिङ ब्याट्सम्यान सिपी रिजवानले सबैभन्दा बढी ४४ रनको योगदान गरे। १९ ओभरसम्म टिकेका उनले अभिनास बोहोराको बलमा आउट हुनुअघि ४३ बल खेलेर ४ चौका र १ छक्का हिर्काए।
घरेलु टिम युएईले पावर प्लेको ६ ओभरमा ४ विकेट गुमाएको थियो भने ३५ रन जोडेको थियो। पावर प्लेमा नेपालका सन्दीप लामिछानेले छैटौं ओभरमा शइमान अनवारलाई १४ रनमा आउट गरेका थिए। लगत्तै उनले मोहमद उस्मानलाई डकआउट गरे। त्यसअघि सोमपालले ओपनर अस्फाक अहमेदलाई ४ रन र गुलाब सब्बारलाई ६ रनमा आउट गरे।
मोमहद बोताले ११ रन जोडे। अमिर हायतलाई ३ रन र कप्तान मोहमद नावीदलाई ७ रनमा अभिनास बोहोराले पेभिलियनको बाटो देखाए। सुल्तान अहमेद ४ रनमा रनआउटको सिकार बने।
बलिङमा नेपालका अभिनास बोहोराले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए।
नेपाललाई दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब छ। तीन खेलको टी–२० सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो। नेपाललाई सिरिज आफ्नो पक्षमा पार्न दोस्रो खेल जित्नै पर्ने दबाब छ।
खेल जित्नसके नेपालले सिरिज जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ। एकदिवसीय सिरसिज गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ।
बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त शृङ्खलाका चार खेल वर्षाको कारण रद्द भएको थियो।अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो। यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।