काठमाडौं– युएईविरुद्धको दोस्रो टी–२० मा नेपालले राम्रो सुरुवात गरेको छ। आइसिसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम युएईले पावर प्लेको ६ ओभरमा ४ विकेट गुमाएको छ भने ३५ रन जोडेको छ।
बलिङमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएका छन्। सन्दीपले छैटौं ओभरमा शइमान अनवारलाई १४ रनमा आउट गरेका थिए। लगत्तै उनले मोहमद उस्मानलाई डकआउट गरे।
सोमपालले ओपनर अस्फाक अहमेदलाई ४ रन र गुलाब सब्बारलाई ६ रनमा आउट गरे।
नेपाललाई दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब छ। तीन खेलको टी–२० सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो। नेपाललाई सिरिज आफ्नो पक्षमा पार्न दोस्रो खेल जित्नै पर्ने दबाब छ।
खेल जित्नसके नेपालले सिरिज जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ। एकदिवसीय सिरसिज गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसकेको छ । बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त शृङ्खलाका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो। यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले शृङ्खला तीन–एक ले गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।