

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ।
तीन खेलको टी–२० सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो। नेपाललाई सिरिज आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।
खेल जित्नसके नेपालले सिरिज जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ। एकदिवसीय सिरसिज गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ ।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० सिरिज जित्न सकेको छैन। सिरिज जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ। नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसकेको छ । बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त शृङ्खलाका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो। यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले शृङ्खला तीन–एक ले गुमाएको थियो।
पहिलो रोजाइका ब्याट्सम्यानले रन बनाउन नसक्दा बिहीबारको खेलमा पराजित हुनुपरेको बताउँदै नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबारको गल्ती सच्याउँदै आज मैदान उत्रने बताए।
“नेपालका शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले विजयी इनिङ्स खेल्न सकेनन्। सन्दीप जोराले एक्लै ५३ रन बनाउँदा नेपालका शीर्ष पाँच ब्याट्सम्यानले बनाएको कुल रन ४० मात्र रह्यो”, खड्काको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।