काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
बुधबार अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर नेकपाका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज राजेन्द्र कार्की ‘नवीन’ र केन्द्रीय तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेकबहादुर बलम्पाकी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
नेता कार्कीले नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापना गरी समाजवादी क्रान्ति गर्ने दृढतासहित आफू माओवादी केन्द्रमा आएको बताए। ‘नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने र समाजवादी क्रान्ति गर्ने माओवादी केन्द्रको पहल निकै सकारात्मक छ। यसलाई आफ्नो ठाउँबाट योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएको छु,' उनले भने।
अर्का नेता बलम्पाकीले कम्युनिस्टहरुको एकताले मात्रै बुर्जुवा सत्ता पल्टाउन सकिने बताए।
पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर समाजवादी क्रान्ति गर्ने र विश्वलाई नयाँ सन्देश दिने उद्देश्यसहित वाम तालमेल गरिएको प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।