काठमाडौं- युएईविरुद्धको पहिलो टी-२० खेलमा नेपाल २१ रनले पराजित भएको छ। दुबईको आइसिसी एकेडेमिमा युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो।
नेपालका लागि टी-२० मा डेब्यू गरेका मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक पूरा गरे। उनी ५३ रनमा नटआउट रहेपनि नेपालका लागि जित पर्याप्त हुन सकेन। जोराले ४६ बलमा ३ चौका र १ छक्का हिर्काए। सोमपाल कामी २७ रनको योगदान दिए। अन्तिम ओभरमा २६ रन आवश्यक भएको बेला उनी पहिलो बलमै आउट भएका थिए।
त्यसअघि खराब सुरुवात गरेको नेपालका ओपनर प्रदीप ऐरी गोल्डेन डकआउट भएका थिए। लगत्तै ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्कन बाध्य भए। त्यसपछि कप्तान पारस खड्का पनि आउट हुँदा नेपाल दबाबमा परेको थियो। प्रदीप ऐरीसँगै ओपनिङमा आएका पारस २५ बलमा २५ रन जोडेर आउट भए। पारसले ४ चौका प्रहार गरेका थिए। यस्तै रोहित कुमार पौडेल र करण केसी पनि ४ रनमा आउट हुँदा नेपाल संकटमा परेको थियो।
बलिङमा युएईका जाहुर खान, कप्तान मोमहद नविद र सुल्तान अहमेदले २-२ विकेट लिए।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो।
युएईका लागि सइमान अनवारले ५९ रनको योगदान गरे। आक्रामक रुपमा प्रस्तुत भएका अनवारले ३८ बल खेलेर ५ चौका र २ छक्का हिर्काएका थिए। उनलाई नेपालका अभिनास बोहोराले बोल्ड गरेका थिए। मोमहद उस्मानले ३० रन जोडेका थिए। उनलाई सन्दीप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याच गराए।
ओपनरद्वय अस्फाक अहमद २ रन र सिपी रिजवान २२ रनमा आउट भएका थिए। गुलाम सब्बार ८ रनमा आउट हुँदा कप्तान मोमहद नवीदलाई बसन्त रेग्मीले १ रनको झिनो स्कोरमा आउट गरे। मोमहद बोता २० रनमा नटआउट रहे।
बलिङमा नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहोरा र सोमपाल कामीले १-१ विकेट हात पारे।
टी-२० सिरिजको दोस्रो खेलमा शुक्रबार हुनेछ भने अन्तिम खेलमा आइतबार हुुनेछ।
युएई भ्रमणमा रहेको नेपालले यसअघि ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।