काठमाडौं- पहिलो टी-२० खेलमा युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक पूरा गरेका छन्। टी-२० मा नेपालका लागि डेब्यू गरेका जोराले १८ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ४१ बलमा अर्धशतक पूरा गरेका छन्। त्यसक्रमा जोाराले ३ चौका र १ छक्का हिर्काए।
यद्यपी नेपालले सुरुवाती ६ विकेट गुमाइसकेको छ। ओपनिङका आएका प्रदीप ऐरी गोल्डेन डकआउट भएका थिए। लगत्तै ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्कन बाध्य भए। त्यसपछि कप्तान पारस खड्का पनि आउट हुँदा नेपाल दबाबमा परेको थियो। प्रदीप ऐरीसँगै ओपनिङमा आएका पारस २५ बलमा २५ रन जोडेर आउट भए। पारसले ४ चौका प्रहार गरेका थिए। यस्तै रोहित कुमार पौडेल पनि ४ रनमा आउट हुँदा नेपाल संकटमा परेको थियो।
बलिङमा युएईका जाहुर खानले २ विकेट लिइसकेका छन्।
अहिले सन्दीप जोरा र सोमपाल कामी ब्याटिङ गरिरहेका छन्। नेपालले १८ ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ।
दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो।
युएईका लागि सइमान अनवारले ५९ रनको योगदान गरे। आक्रामक रुपमा प्रस्तुत भएका अनवारले ३८ बल खेलेर ५ चौका र २ छक्का हिर्काएका थिए। उनलाई नेपालका अभिनास बोहोराले बोल्ड गरेका थिए। मोमहद उस्मानले ३० रन जोडेका थिए। उनलाई सन्दीप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याच गराए।
ओपनरद्वय अस्फाक अहमद २ रन र सिपी रिजवान २२ रनमा आउट भएका थिए। गुलाम सब्बार ८ रनमा आउट हुँदा कप्तान मोमहद नवीदलाई बसन्त रेग्मीले १ रनको झिनो स्कोरमा आउट गरे। मोमहद बोता २० रनमा नटआउट रहे।
बलिङमा नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहोरा र सोमपाल कामीले १-१ विकेट हात पारे।
टी-२० सिरिज ३ खेलको हुनेछ। युएई भ्रमणमा रहेको नेपालले यसअघि ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।