हामिल्टन– न्युजिल्यान्डविरुद्धको चौथो एकदिवसीय खेलमा भारत ९२ रनमै अलआउट भएको छ। टस जितेको न्युजिल्यान्डले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारत ३०.५ ओभरमा ९२ रनमै अलआउट भयो।
९३ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा १४.४ ओभरमा पार गर्दै ८ विकेटको जित निकाल्यो। भारतले २ सय १२ बल खेल्न बाँकी छदै हार बेहोरेको हो। बल बाँकीको आधारमा भारतको यो सबैभन्दा ठूला हार हो।
न्युजिल्यान्डका लागि निकोलासले नटआउट ३० र रोश टेलरले ३७ रनको योगदान गरे।
त्यसअघि भारतको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ५ विकेट लिए। ग्रान्डहोमले ३ विकेट हात पारे।
भारतका लागि १० नम्बरक ब्याट्सम्यान युजवेन्द्र चाहलले नटआउट १८ रन जोडेका थिए। नियमित कप्तान विराट कोहली र पूर्वकप्तान महेन्द्रसिंह धोनी खेलमा आराम दिइएको थियो भने रोहित शर्माले कप्तानी गरेका थिए। ओपनिङमा आएका उनी ७ रनमा आउट भए।
भारतले यसअघि लगातार तीन खेल जित्दै सिरिज जितिसकेको छ। चौथो खेलमा न्युजिल्यान्ड विजयी भएसँगै सिरिज ३–१ को स्थितिमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।