काठमाडौं- राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित छुट्टाछुट्टै २ पुरस्कार तीन जना स्रष्टालाई अर्पण गरियो।
कोषद्वारा बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमान सिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरियो।
राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पुर्याउने ध्येयले विसं २०५७ मा स्थापित सो पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ, स्वर्ण पदक तथा प्रमाणपत्र रहेको छ।
हालसम्म सो पुरस्कारबाट ३७ जना कलाकार सम्मानित भइसकेका छन्। नेपाली परम्परागत, आधुनिक एवम् मौलिक चित्रकलाको फाँटमा निरन्तर सक्रिय रही प्रशंसनीय योगदान दिएवापत कलाकारद्वयलाई सो पुरस्कार प्रदान गरिएको हो।

विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरियाे। युवा सङ्गीतकार जङ्गम सङ्गीत विधामा विद्यावारिधि गर्दै छन्।
नेपाली लोक, आधुनिक, मौलिक तथा सुगम सङ्गीतका फाँटमा अतुलनीय योगदान पुर्याएका स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित सो पुरस्कारको राशि ४० हजार रुपैयाँ नगद, स्वर्णपदक तथा प्रमाणपत्र रहेको छ। सो पुरस्कारबाट हालसम्म ४३ जना स्रष्टा सम्मानित भैइसकेका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार प्रदान गर्दै कलाकार विभाजित नभई एकताबद्ध रुपमा कला साहित्यको श्रीवृद्धिमा समर्पित हुनुपर्नेमा जाेड दिए। सो अवसरमा कोषका अध्यक्ष भीमबहादुर अधिकारी, उपाध्यक्ष प्रदीपमान वैद्य, सदस्यसचिव शङ्करप्रसाद पाण्डेले कोषका गतिविधिमाथि प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।