

काठमाडौं– युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्दैछ।
तीन वटा एकदिवसीय र तीन वटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एकदिवसीय सिरिज २–१ ले आफ्नो पक्षमा पारिसकेको छ।
एकदिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो। तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो।
नेपालले टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ। टि–२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेल नेपाली समयानुसार २ः४५ बजे हुनेछ। सम्पूर्ण खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ। जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो।
राम्रो फर्ममा रहेको नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ। जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीकाटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन्।
सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो। नेपालले यसअघि नेदरल्यान्ड्ससँग खेलेको ४ खेलको टी–२० सिरिज ३–१ ले गुमाएको थियो। टी–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।