काठमाडौं–मोरङ जिल्ला क्रिकेट संघको बुधबार हुने भनिएको निर्वाचनमा नेतृत्व छनोटमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ।
आज हुने भनिएको साधारण सभामा नयाँ नेतृत्व सहमतिको आधारमा छनोट गर्ने भनिएको थियो। तर, विवादका कारण सम्भव हुन सकेन्। नेपाल क्रिकेट संघको केन्द्रिय कमिटीमा लामो समयदेखि रहेका नरेश श्रेष्ठ गुटको तर्फबाट रोशन बुढाथोकी तथा मोरङ जिल्ला क्रिकेट संघका वर्तमान अध्यक्ष मोहम्मद साद कुरैसी ‘बाबु’को गुटबाट सर्वजीतराज पाण्डे अध्यक्षका आकांक्षी थिए। तर, दुबैबीच सहमति जुट्न नसकेपछि आपसी सहमतिमा निर्वाचन ११ गते सारिएको नरेश श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
‘निर्वाचन सहमतिमै गराउने भनिए पनि सम्भव भएन। फेरि विधानको विषयमा पनि केही विवाद रहयो। यसपछि सहमतिमा सार्ने निर्णय गरेका हौं,’ उनले भने।
अधिवक्ता सुजित चेल संयोजक रहेको ३ सदस्यीय निर्वाचन कमिटीका सदस्य भैरव क्षेत्रीले नेपाल लाइभसँग भने, ‘पहिले त विद्यान नै छाप लगाएको पठाइएको थिएन्। उहाँहरुले सर्वसहमतिमा निर्वाचन गराउँछौ भनेपछि हामी राजी भएका थियौं। तर, सर्वसहमति नजुटेपछि तराईको चाँड छैठबीचमा पर्ने कारण कार्तिक ११ गते सार्ने निर्णय गरेका हौं।’
मोहम्मद सादको गुटका पाण्डेले पनि निर्वाचन सारिएको जानकारी दिए। ‘निर्वाचन सार्ने सहमति बनेपछि सारेका हौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।