काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसले सबैलाई सहिदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।
सहिद दिवसका अवसरमा आज सन्देश दिँदै उनले विगतमा सहिदले गरेको योगदानको फलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको जनाउँदै नेपालको संविधानबमोजिम पहिलो पटक स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको बताएकी छिन्।
'प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा सहिदप्रति सच्चा सम्मान हुने विश्वास मैले लिएकी छु', सन्देशमा भनिएको छ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आ-आफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके सहिदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गरिन्।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय सहिदलाई जाने धारणा राखे।
उनले आज शुभकामना सन्देश दिँदै नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा सहिदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको स्पष्ट गपारे।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सहिहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताए।
सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणा शासनविरुद्ध विसं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गरे। प्रधानमन्त्री ओलीले सहिदहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरे।
'पुस्तौंदेखि अनवरत रुपमा लोकतन्त्रका निम्ती संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ', प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं। त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ।'
दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। 'यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रकृयामा सहभागी भएका नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु', प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।