काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वमु श्रेष्ठले अवैध रुपमा आर्जन गरेको पैसा दुई श्रीमतीसहित परिवारका अन्य सदस्यको नाममा लुकाउने गरेको रहस्य खुलेको छ। उनी ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति हुन्।
जिल्ला अदालत काठमाडौंमा सुन तस्करीको मुद्दा खेपिरहेका श्रेष्ठले अवैध रुपमा आर्जन गरेको साढे १४ करोड रुपैयाँ भाइ, बुहारी र बुवाको नाममा समेत राखेको अख्तियार दुरुपययोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ। अख्तियारले श्रेष्ठको २०५३ सालदेखिको आम्दानी अनुसन्धान गर्दा यस्तो रहस्य फेला पारेको हो।
विमानस्थल भन्सार कार्यालयको रेडियो अपरेटरमा कार्यरत उनको सम्पत्ति अकूत देखेपछि अख्तियारले अनुसन्धान थालेको थियो। उनलाई अख्तियारले १४ करोड ६१ लख २४ हजार ४ सय ७८ बिगो र सोही बराबर जरिवाना हुनुपर्ने माग गरेको छ। परिवारका अन्य सदस्यको नाममा राखिएको रकम समेत जफत गर्न अख्तियारले माग गरेको छ।
३३ किलो सुन तस्करी प्रकरणमा तानिएपछि २०७३ पुस २७ देखि उनी निलम्बनमा परेका छन्।
कसको नाममा कति पैसा?
अख्तियारले श्यामकृष्ण श्रेष्ठको आम्दानीको पारिश्रमिकबापत १८ लाख १६ हजार ९ सय ४८ रुपैयाँ जम्मा हुने अख्तियारको आरोपपत्रमा उल्लेख छ। श्रेष्ठ परिवारले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ करोड ४७ लाख ७६ हजार ४ सय ३९ रुपैयाँ कर्जा लिएका थिए।
उनका बुवा ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधोपचार सुविधा बापतको ३ लाख ७३ हजार ३ सय ६९ रुपैयाँ र तलब २० लाख ४६ हजार ७ सय रुपैयाँ भने वैधानिक आर्जन भएको अख्तियारले जनाएको छ। ज्ञानकृष्णको पेन्सन १० लाख ३६ हजार ९ सय ९५ रुपैयाँ र विदेश भ्रमण गरी प्राप्त गरेको ६० लाख २ सय २५ रुपैयाँ वैधानिक आम्दानी भएको आरोपपत्रमा उल्लेख छ।
३३ किलो सुन तस्करी प्रकरणमा तानिएपछि २०७३ पुस २७ देखि उनी निलम्बनमा परेका छन्।
त्यसैगरी परिवारकै अर्की सदस्य सन्ध्या श्रेष्ठको पारिश्रमिकबापत ३ लाख ७६ हजार ८१ रुपैयाँ वैधानिक आम्दानी रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
श्यामकृष्णका भाइ डा रामकृष्णको पारिश्रमिक १४ लाख ३९ हजार ८ सय ६७ रुपैयाँ र बुहारी डा रविना प्रधानांगको पारिश्रमिक १२ लाख ६१ हजार ४ सय २१ रुपैयाँ वैधानिक आम्दानी हुने अख्तियारले दाबी गरेको छ।
श्यामकृष्णकी जेठी श्रीमती तारादेवी श्रेष्ठले पारिश्रमिकबाट ५ लाख ३३ हजार ६ सय ७५ रुपैयाँ, जग्गा बिक्रीबाट २ करोड ७९ लाख ७३ हजार ६ सय ८३रुपैयाँ, फ्ल्याट बिक्रीबाट १ करोड ५७ लाख ८७ हजार ३ सय २० रुपैयाँ र घरबहालबाट ३४ लाख रुपैयाँ आम्दानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
श्यामकृष्णले पदमा रहेर प्राप्त गरेको कमिसन ९ हजार ७ सय ८० रुपैयाँ, सवारीसाधनहरु बिक्रीबाट ५४ लाख १६ हजार ३ सय १० रुपैयाँ वैध आम्दानी गरेको अख्तियारको दाबी छ।
श्रेष्ठ २०५३ चैतदेखि जागिरमा प्रवेश गरेका थिए। सोही अवधिदेखि अख्तियारले अनुसन्धान थालेको हो।
श्रेष्ठ परिवारको आम्दानीवाट ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रुपैयाँ वैधानिक रुपमा आयआर्जन भए पनि ठूलो रकम अवैध रहेको अख्तियारले जनाएको छ।
अवैध आम्दानी वैध बनाउन घरजग्गामा लगानी
श्यामकृष्ण श्रेष्ठले सुन तस्करीमा आर्जन गरेको सम्पत्ति लुकाउन सहज बाटो खोज्दै जाँदा घरजग्गा भेट्टाएका थिए । उनले उक्त क्षेत्रमा लगानी गर्दा कम शंका हुने आँकलनसहित विभिन्न स्थानमा जग्गा खरिद र बिक्री गरेको भन्दै अवैध आम्दानी वैध बनाउने प्रयास गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।
श्रेष्ठले यो अवधिसम्म सोही रुपमा अवैध आम्दानी छिपाउने गरेको तर अख्तियारको अनुसन्धानमा उक्त कुरा खुलेको आरोपपत्रमा उल्लेख छ।
श्रेष्ठ २०५३ चैतदेखि जागिरमा प्रवेश गरेका थिए। सोही अवधिदेखि अख्तियारले अनुसन्धान थालेको हो।
उक्त अवधिसम्ममा श्रेष्ठ परिवारले जग्गा खरिदमा २ करोड ४६ लाख ३९ हजार ३ सय २५ रुपैयाँ खर्च गरेको अनुसन्धानमा खुलेको छ। उनीहरुले घर निर्माणमा ३ करोड ८६ लाख १५ हजार ८ सय ८९ रुपैयाँ र अध्ययन खर्चमा १० लाख ६८ हजार ४ सय ३ रुपैयाँ खर्च गरेको दाबी अख्तियारमा गरेका छन्।
श्रेष्ठ परिवारको नाममा १९ करोड ७४ लाख ५५ हजार ८ सय १६ रुपैयाँ लगानी।
यसैगरी नमोबुद्ध एग्रो प्रालि समेतका कम्पनीमा गरेको ५ करोड ४७ लाख ६८ हजार लगानी सुन तस्करीको रकमबाट भएको आरोपपत्रमा उल्लेख छ।
श्रेष्ठ परिवारले ऋणको सावाँ ब्याज भुक्तानी शीर्षकमा ३ करोड ७४ लाख ४४ हजार ८ सय ६ रुपैयाँ र सवारीसाधन खरिदमा २ करोड २६ लाख १६ हजार रुपैयाँ रकम खर्च भएको बयान दिएको अख्तियारले जनाएको छ।
तर, उनीहरुको परिवारको बैंक मौज्दात ८६ लाख १८ हजार २ सय ७८ रुपैयाँ, घरबहाल कर तिरेको ३ लाख ५५ हजार ४ सय १४ रुपैयाँ, बकस तथा अंशबण्डा गर्दा तिरेको ७१ हजार ९ सय ५० रुपैयाँ, फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७ सय ५० रुपैयाँ र सेयर खरिदमा ३५ हजार रुपैयाँ गरी खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
श्रेष्ठ परिवारको नाममा १९ करोड ७४ लाख ५५ हजार ८ सय १६ रुपैयाँ लगानी गरेको पाइएको छ।
अनुसन्धानले श्रेष्ठ परिवारको कुल ९ करोड ११ लाख अवैध सम्पत्ति रहेको फेला पारेको थियो। तर सो रकममा पनि ४ करोड ४९ लाख ७७ हजार ४ सय ९० रुपैयाँसमेत थप आर्जन गरेको अख्तियारले फेला पारेपछि १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।