काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकोमा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गरेका छन्।
बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत रहेको बताएका छन्।
चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गरे।
आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।