काठमाडौं- सरकारले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो।
सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले १ हजार १८ जना सेना, १ हजार ४ सय ४८ जना नेपाल प्रहरी, ३ सय १८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका गरी २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको जानकारी दिए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सहिद घोषणा गर्ने सरकारको निर्णयले उनीहरुको योगदानको सम्मान भएको टिप्पणी गरे। युद्धको घाउ कोट्याएर अशान्ति र हिंसा भड्काउन खोजिएको भन्दै उनले अहिले घाउमा मलम लगाउने बेला भएकोले सबै त्यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएसँगै सशस्त्र द्वन्द्व समाप्त भएका थियो। २०५२ देखि २०६३ सम्म तत्कालीन विद्रोही माओवादीले सशस्त्र द्वन्द्व चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।