सल्लेरी – नेकपा एमाले सोलुखुम्बुका नेता लोचनकुमार शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने भएका छन्।
सोलुखुम्बुको प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेता शर्माले आज उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा फिर्ता नगरेपछि चुनाव लड्ने निश्चित भएको हो।
मंगलबार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष मानवीर राईले लोचनकुमार शर्माले उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गरेका थिए। लामो समय आफ्नो ऊर्जाशील समय र जीवन पार्टीमा खर्चदा पनि पार्टीले उचित स्थान नदिएको शर्माको गुनासो छ । उनले स्थानीय तहको निर्वाचनमा नेचा सल्यान गाउँपालिका प्रमुखको समेत दाबी गर्दै स्वतन्त्र उम्मेदवार समेत दिने उद्घोष गरेका थिए।
एमाले नेता उत्तमकुमार बस्नेतलाई प्रदेश ‘क’ मा उम्मेदवार बनाएको छ भने काँग्रेसबाट प्रकाशसिंह कार्की उम्मेदवार छन्। शर्माको उम्मेदवारीले बस्नेतलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे कडा कारबाही गर्ने एमाले केन्द्रीय तहका नेताहरुले बताउँदै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।