काठमाडौं– मनोनयन दर्ता गर्ने समयमा नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुन्डा नाइके दीपक मनाङे अन्ततः पार्टीको समर्थनमा उम्मेदवार भएका छन्।
पार्टीका तर्फबाट मनोनयन दर्ता गराएकी एमाले नेतृ खाण्डा गुरुङलाई पार्टीले फिर्ता हुन दवाब दिएपछि मनाङे उम्मेदवार भएका हुन् । स्वतन्त्र उम्मेदवार मनाङेलाई एमालेले समर्थन गर्ने भएको हो।
मनाङे अब मनाङ प्रदेश (ख) बाट एमालेका उम्मेदवार भएका छन् । राजीव गुरुङ नाम रहेका मनाङे केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । प्रदेशको उम्मेदवार बनाउने शर्तमा मनाङे एमालेमा गएका थिए।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेको थियो । तर, मनाङे नागरिकले आफूलाई जिताउने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ सय १७ जनाले मनोनयन दर्ता गराएकोमा अन्तिम समयसम्म ९२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीले भाडामा लिएको हेलिकोप्टर चढेर उम्मेदवारी फिर्ता
रामेछापमा बिनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी पूर्व सांसद लक्ष्मी गुरुङले पार्टीले भाडामा लिएको हेलिकोप्टर चढेर उम्मेदवारी फिर्ता लिएकी छन् । उम्मेदवारी फिर्ता गर्न दुवै उम्मेदवार हेलिकोप्टरमा काठमाडौंबाट रामेछापको मन्थली पुगेका थिए।
सिन्धुपाल्चोकमा प्रदेश २ 'ख' मा कांग्रेसले बनाएको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै महासमिति सदस्य जिमी लामाले दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उक्त क्षेत्रमा पार्टीले निमा लामालाई टिकट दिएको थियो।
गोरखा
कांग्रेस नेतृत्वको गठबन्धनबाट गोरखा २ मा प्रत्यासी रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्दै एकजनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट गोरखाको प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवार बनेका सुकदेव गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन्।
मुगु
मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका सुरबहादुर बुढा, प्रदेश ‘क’ बाट मनोनयन दर्ता गराएका केवलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले फिर्ता लिएका हुन् ।
जाजरकोट
जाजरकोटमा मुख्य दुवै गठवन्धनका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वाम गठबन्धनका ३ र राप्रपा प्रजातान्त्रिकका ३ उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् ।
निर्वाचन क्षेत्र बाँडफाँट कार्यदलको निर्णय अनुसार वाम गठबन्धनका निरज आचार्य (प्रदेशसभा ‘क’), नरबहादुर कार्की (प्रदेशसभा ‘ख’) र गोविन्द विक्रम शाह (स्वतन्त्र उम्मेदवार) ले उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कालीबहादुर मल्लले बताए ।
यस्तै, लोकतान्त्रिक गठबन्धनलाई सघाउन भन्दै राप्रपा प्रजातान्त्रिकका कृष्ण विक्रम शाह, वीरबहादुर मल्ल र लालबहादुर रावतले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
म्याग्दी
प्रतिनिधीसभा तथा प्रदेशसभामा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका १९ मध्ये कांग्रेसका २ र एमालेका १ बागी समेत गरी ६ जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार, राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभा उम्मेदवार रुपनारायण श्रेष्ठ, प्रदेशसभा क्षेत्र १ का बलबहादुर सुनार र प्रदेशसभा क्षेत्र २ का तिलाराम दर्मले उम्मेदवारी फिर्ता लिएका हुन्।
लोकतान्त्रिक गठबन्धनले राप्रपाका भीमप्रसाद गौचनलाई प्रदेशसभा क्षेत्र १ बाट उम्मेदवार बनाएपछि असन्तुष्ट कांग्रेस नेताहरु नेत्रबहादुर महत र केवी भण्डारीले बागी उम्मेदवारी दिएका थिए।
त्यसैगरी वाम गठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका उम्मेदवार विनोद केसीको विरुद्धमा बागी उम्मेदवारी दिएका एमाले कार्यकर्ता केदारप्रसाद (केपी) अधिकारीले पनि नाम फिर्ता लिएका छन्।
बाग्लुङ
जिल्लामा वाम गठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गराएका केहीले फिर्ता लिएका छन् । बाग्लुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका गंगा थापा, पूर्णबहादुर पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका धनबहादुर विक ‘हिमाल’ र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका दधिराम शर्माले उम्मेदवारी फिर्ता लिएका हुन् ।
अन्य जिल्लामा पनि वाम र लोकतान्त्रिक दुवै गठबन्धन विरुद्ध उम्मेदवारी दिएका केही नेताले नाम फिर्ता लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।