काठमाडौं– पूर्वमन्त्री विक्रम पाण्डेसँगै सिक्टा आयोजनामा भ्रष्टाचार मुद्दा खेपिरहेका प्रमुख इन्जिनियर सरोज पण्डित विशेष अदालतबाट ८० लाख धरौटीमा रिहा भएका छन्।
पण्डितले बैंकलाई जमानत राखेर आइतबार तारेखमा रिहा भएका हुन्।
उनी आजै अदालत हाजिर भएका थिए। पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी पाण्डेसहित २१ जनाविरुद्ध अख्तियारले मंसिर २१ ग्ते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्धय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीसँग धरौटी माग गरेको हो।
आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माण क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको उनीहरुमाथि आरोप थियो।
उनीहरुमाथि साढे ८ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो। अख्तियारले पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको दावी गर्दै सो बराबर असुल हुनुपर्ने दावी गरेको थियो।
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेलाई माद्द २ गते अदालत उपस्थित हुदै ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए।
ग्लोबल आइएमई बैंकको ग्यारेन्टीपत्र राखेर पाण्डे धरौटीमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।