सुर्खेत– पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनमा प्रदेश नम्बर ६ का सात वटा जिल्ला समावेश छन् । यो प्रदेशका दस जिल्लामध्ये पहिलो चरणमा डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट र पश्चिम रुकुममा निर्वाचन हुँदैछ । जसमा प्रतिनिधिसभाका सात र प्रदेशसभाका १४ वटा निर्वाचन क्षेत्र छन् । यी सबै जिल्लामा प्रतिनिधिसभाका एक/एक वटा र प्रदेशसभामा दुई/दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ।
गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम अनुसार, प्रदेश ६ मा एमालेले २७ तथा कांग्रेस र माओवादी केन्द्रले २५/२५ स्थानीय तहको नेतृत्व गरिरहेका छन् भने दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
तर, पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा रहेका ४९ स्थानीय तहमा भने माओवादी केन्द्र अगाडि छ । माओवादीले २२, एमालेले १३ र कांग्रेसले १२ वटा तथा स्वतन्त्रले २ वटा स्थानीय तहको नेतृत्व गरिरहेका छन्।
स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत विश्लेषण गर्दा सातै वटा जिल्लामा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बलियो अवस्थामा छ । वाम गठबन्धनभित्र ‘अन्तरघात’ नभएमा सातै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनले ‘क्लिन स्वीप’ गर्न सक्ने आकलन एमाले–माओवादी नेताहरुले गरेका छन्।
कांग्रेसका नेताहरुले आफूहरु पनि कमजोर नभएको दाबी गरिरहे पनि स्थानीय तहको मतपरिणामका आधारमा विश्लेषण गर्दा वाम गठबन्धनलाई तोडेर विजय हासिल गर्न कांग्रेसलाई निकै कठिन छ । वाम गठबन्धनको मत प्रभावित गर्न नसक्ने हो भने कांग्रेस नतिजा शून्य हुन समेत सक्नेछ ।
डोल्पा : यहाँ प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको छ । कुल ८ स्थानीय तह रहेको यस जिल्लामा कांग्रेसको नतिजा शून्य भयो । यहाँबाट ४ वटामा एमाले, २/२ वटामा माओवादी र स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
अबको निर्वाचनमा पनि सोही अनुसार मत आएमा प्रदेशसभाका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।
प्रदेशसभातर्फ वाम गठबन्धन बलियो देखिन्छ। प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह छन् । जसमध्ये दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने दुई वटामा एमाले विजयी भएको छ । डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसाङ गाउँपालिकामा जितेका स्वतन्त्र उम्मेदवारहरु पनि एमालेमा प्रवेश गरिसकेका छन् । यसकारण पनि यो निर्वाचन क्षेत्रमा एमाले बलियो छ । कतिसम्म भने स्वतन्त्र उम्मेदवारले जितेका दुवै गाउँपालिकामा एमालेका उम्मेदवार नै दोस्रो स्थानमा थिए।
क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धन नै बलियो छ । चार वटा स्थानीय तह रहेको उक्त निर्वाचन क्षेत्रका २ वटामा एमाले र दुई वटामा माओवादी केन्द्रले जितेको छ । एमालेले जितेको स्थानमा माओवादी दोस्रो र माओवादीले जितेको स्थानमा एमाले दोस्रो भएका थिए । त्यसकारण अब हुने प्रदेशसभाको निर्वाचनमा पनि वाम गठबन्धनलाई तोडेर जित निकाल्न नेपाली कांग्रेसका लागि सजिलो छैन।
जुम्ला : जुम्लाका ४ वटा स्थानीय तह कांग्रेसले जितेको छ। ३ वटामा माओवादी केन्द्र र एउटामा भने एमाले विजयी भएको थियो । जिल्लामा ८ वटा स्थानीय तह छन्।
प्रदेशसभाको लागि निर्धारण गरिएको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले जितेका २ वटा र माओवादी केन्द्रले जितेका २ वटा स्थानीय तह पर्छन् । तर, चार वटै गाउँपालिकाका अध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई हेर्ने हो भने नेपाली कांग्रेसभन्दा वाम गठबन्धनको मत दोब्बरभन्दा बढी हुन आउँछ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा भने वाम गठबन्धनलाई कांग्रेसले टक्कर दिन सक्दछ । यस क्षेत्रमा रहेका ४ वटा स्थानीय तहमध्ये २ वटामा कांग्रेस विजयी भएको छ भने एमाले र माओवादी केन्द्र एक÷एक वटामा विजयी भएका छन्।
कालिकोट : कालिकोट पनि वाम गठबन्धन नै बलियो भएको जिल्ला हो । ९ वटा स्थानीय तहमध्ये कांग्रेसले एउटा मात्र जितेको छ भने ५ वटा माओवादी केन्द्र र ३ वटामा एमाले विजयी भएको छ।
प्रदेशसभाको क्षेत्र नम्बरमा १ मा महावै गाउँपालिका, तिलागुफा गाउँपालिका, खाँडाचक्र गाउँपालिका र कालिका गाउँपालिका पर्छन् । जसमा दुई वटामा एमाले, एक-एक वटामा माओवादी र कांग्रेस विजयी भएका थिए । एमालेले जितेको दुवै ठाउँमा माओवादी मुख्य प्रतिस्पर्धी थियो । माओवादी र कांग्रेसले जितेका स्थानमा दुवै दल एकअर्काका प्रतिस्पर्धी थिए । यसले पनि वाम गठबन्धनको मत बलियो देखाउँछ।
प्रदेशसभाको क्षेत्र नम्बर २ मा ५ वटा स्थानीय तह पर्छन् । जसमा ४ वटामा माओवादी र एउटामा एमाले विजयी भएका छन् । ४ वटामा कांग्रेस मुख्य प्रतिस्पर्धी थियो भने एउटामा माओवादीले एमालेलाई पराजित गरेको थियो । यो क्षेत्रमा पनि वामपन्थी गठबन्धन बलियो देखिन्छ।
मुगु : मुगु भने नेपाली कांग्रेस बलियो भएको जिल्ला हो । यहाँका ४ वटा स्थानीय तहमध्ये तीन वटामा कांग्रेस विजयी हुँदा एउटामा एमाले विजयी भएको छ । तर, वाम गठबन्धनसँग भिडेर अबको निर्वाचन जित्न भने कांग्रेसलाई सजिलो छैन।
प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा रहेका दुवै स्थानीय तह कांग्रेसले जितेको छ । तर, एमालेका उम्मेदवारले कडा टक्कर दिएका थिए भने एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत कांग्रेसको भन्दा धेरै हुन आउँछ।
त्यसैगरी क्षेत्र नम्बर २ मा रहेको सोरु गाउँपालिकामा एमालेका उम्मेदवारलाई ३३ मतको अन्तरले पराजित गर्दै कांग्रेस विजयी भएको छ भने खत्याड गाउँपालिकामा २३०७ मत प्राप्त गरी एमाले विजयी हुँदा १९९९ मत ल्याएको कांग्रेस तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको माओवादीले २०२८ मत पाएको थियो । यसलाई आधार मान्ने हो भने यो क्षेत्र पनि वाम गठबन्धनले जित्ने सम्भावना अधिक छ।
हुम्ला : हुम्लाका सात वटा स्थानीय तहमध्ये खार्पुनाथ र सिम्कोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने अरु सबैमा माओवादी केन्द्र र एमाले विजयी भएका छन्।
प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा रहेका चार वटा स्थानीय तहमध्ये तीन वटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको छ । उक्त नतिजाले यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारलाई हराउन असम्भव प्रायः देखिन्छ।
त्यस्तै, क्षेत्र नम्बर २ मा भने कांग्रेसले वाम गठबन्धनलाई टक्कर दिन सक्ने क्षेत्र हो । यहाँ रहेका तीन वटा स्थानीय तहमध्ये दुई वटामा कांग्रेस विजयी भएको छ । तीन वटै गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवारले पाएको जम्मा मत ३ हजार २ सय ५४ छ भने एमाले र माओवादीका उम्मेदवारले पाएको मत चार हजार भन्दा बढी छ।
जाजरकोट : जाजरकोटमा पनि वाम गठबन्धनलाई रोक्न कांग्रेसलाई निकै गाह्रो छ । यहाँका ७ वटा स्थानीय तहमध्ये २ वटामा कांग्रेस विजयी हुँदा २ वटैमा माओवादी केन्द्र र ३ वटामा एमाले विजयी भएको छ।
प्रदेशसभाको क्षेत्र नम्बर १ मा बारेकोट गाउँपालिका, त्रिवेणी नलगाड नगरपालिका, भेरी नगरपालिका र कुसे गाउँपालिकाको वडा नम्बर ५ देखि ९ सम्म पर्छन् । बारेकोटेमा कांग्रेस, त्रिवेणी नलगाडमा माओवादी र भेरीमा एमाले विजयी भएका थिए।
त्यस्तै, कुसे गाउँपालिकको वडा ५ देखि ९ सम्मको वडामा कांग्रेस बलियो देखिन्छ । त्यहाँ वडा नम्बर ६ बाहेक अरु सबैमा कांग्रेसले जितेको थियो । यो क्षेत्रमा प्रतिस्पर्धा तीव्र हुने बुझ्न सकिन्छ।
क्षेत्र नम्बर २ मा जुनी चाँदे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका पर्छन् । कुसे गाउँपालिकाको १ देखि ४ नम्बर वडाहरु पनि पर्छन् । जुनी चाँदेमा माओवादीले जितेको छ भने छेडागाडा र शिवालयमा एमालेले जितेको छ । माओवादीले जितेको ठाउँमा एमाले मुख्य प्रतिस्पर्धी रहेको छ । कुसे गाउँपालिकामा भने वडा नम्बर १ र ४ माओवादीले र २ र ३ कांग्रेसले जितेको छ । यो क्षेत्रमा भने वामपन्थी गठबन्धन बलियो देखिन्छ।
रुकुम पश्चिम : गठबन्धनभित्र अन्तरघात नभएको खण्डमा पश्चिम रुकुमका प्रदेशसभाका दुवै क्षेत्र वाम गठबन्धनले जित्नेछन् । यहाँका ६ वटै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत हेर्दा माओवादी र एमालेले पाएको मत कांग्रेसको भन्दा दोब्बर छ।
क्षेत्र नम्बर १ मा आठबिसकोट नगरपालिका, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म पर्छन् । आठबिसकोट र बाफिकोटमा माओवादीले कांग्रेस उम्मेदवारलाई पछि पारेका थिए।
त्यस्तै, मुसीकोट नगरपालिकाको १, २ र ३ नम्बर वडा कांग्रेसले जितको थियो भने बाँकी माओवादीले जितेको थियो । यहाँ माओवादी उम्मेदवारको जित सहज देखिन्छ।
उता क्षेत्र नम्बर २ मा चौरहजारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका पर्छन् । यहाँ मुसीकोट गाउँपालिकाका वडा नम्बर १२, १३ र १४ पनि पर्छन्। जहाँ वडा नम्बर १२ र १३ मा माओवादी र १४ मा कांग्रेस विजयी भएको थियो । बाँकी ३ स्थानीय तहमा माओवादीले कांग्रेसलाई पछि पारेका थिए।
दुवै क्षेत्रमा एमालेको खास प्रभाव देखिँदैन । वाम गठबन्धन विरुद्ध कांग्रेस उम्मेदवार प्रतिस्पर्धी भए पनि जित निकाल्न भने कठिन देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।