काठमाडौ - पश्चिमी वायुको प्रभावले गत मङ्गबारदेखि देशभर सुरु भएको वर्षाकाे क्रममा आजदेखि सुधार आउन थालेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ।
पश्चिमी वायुको प्रभावले गत मङ्गबारदेखि सुरु भएको वर्षा आजबाट क्रमिक सुधार हुँदै जाने मौसमविद् विभूति पोखरेलले बताए। उनका अनुसार दिउँसो देशभरको मौसम सामान्यतयाः सफा रहनेछ। पहाडी भू–भागमा भने आंशिक बदलीको सम्भावना रहेको बताइएको छ।
साेमबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतयाः सफा रहनेछ। पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाको पछिल्ला विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ र अधिकतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २६ डिग्री सेल्सियस रहेको महााशाखाले जनाएकाे छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।