सिओल– करेन्ट लागेर हात–पाउ गुमाएका दाङका कृष्ण ओलीका लागि दक्षिण कोरियामा १८ लाख रुपैयाँ संकलन गरिएको छ। कोरियामा मीन विकको समूह र प्रवासी नेपाली एकता मञ्चले छुट्टाछुट्टै रकम संकलन अभियान सञ्चालन गरेका थिए।
मीन विकको समूहले संकलन गरेको १३ लाख ४६ हजार २ सय ८९ रुपैयाँ नेपालको एक टेलिभिजनमार्फत रकम हस्तान्तरण गरिसकेको छ। एकता मञ्चले संकलन गरेको करिब ४ लाख ५० हजार रुपैयाँ रकम मंगलबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै बोलाएर बिरामीलाई हस्तान्तरण गरिने संयोजक परशुराम सापकोटाले जानकारी दिए।
आफ्नो समूहमा ५ सय ५४ जनाले सहयोग गरेको विकले बताए। त्यस्तै मञ्चको अभियानमा २ सय १३ जना सहभागी भएको संयोजक सापकोटाले बताए। यस बाहेक कोरियामा रहेका नेपालीले व्यक्तिगत रुपमा पनि ओलीको खातामा सहयोग रकम जम्मा गरिदिएको बताएका छन्।
गत जेठमा विद्युतसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते ओलीले दुबै हात र एक खुट्टा गुमाएको भन्दै सहयोगको लागि कोरियामा अपील गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।