जनकपुर- जनकपुर उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसक्दा फोहोर व्यवस्थापनका लागि निकासा भएकाे ६० करोड रुपैयाँ फिर्ता भएको छ।
एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुर उपमहानगरपालिकाले ल्यान्डफिल्ड साइटका लागि एसियाली विकास बैंक (एडिबी)सँग सम्झौता गरेको तीन वर्ष बितिसक्दा पनि जग्गा व्यवस्थापन गर्न नसकेपछि रकम फिर्ता भएको हो।
धार्मिक सहर जनकपुरलाई सफा, सुन्दर, रमणीय र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले अत्याधुनिक ल्यान्डफिल्ड साइट निर्माण गर्न एसियाली विकास बैंकबाट सरकारले ऋणस्वरूप एक अर्ब ९० करोड रुपैयाँ प्राप्त गरेकाे थियाे। साेमध्ये ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि ६० करोड रुपैयाँ छुट्याइएकाे थियो।
तीन वर्षअघि आयोजना सुरु भएपछि जनकपुरधाम उपमहानगरपालिकाले क्षीरेश्वरनाथ गाउँपालिका–१० गोपालपुरस्थित जलाध खोला किनारमा ल्यान्डफिल्ड साइट निर्माण गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेकाे थिएन। त्यसपछि नगराइन नगरपालिकाको फूलगाममा ल्यान्डफिल्ड साइट निर्माण गर्न गुठी संस्थानसँग सम्झौता गरे पनि स्थानीयले विरोध जनाएका थिए।
उपमहानगरपालिकामा निर्वाचित पदाधिकारीले समेत फूलगामामा जग्गा व्यवस्थापन गर्न नसकेपछि वडा नम्बर १८ को भोइलमा निर्माण गर्ने निर्णय भयाे। तर, गुठी संस्थानसँग सम्झौता भई टेन्डर आह्वानका लागि तयारी गर्दा स्थानीयले विरोध गरेपछि फेरि रद्द गर्नुपरेको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए।
जनकपुरको फोहोरमैला व्यवस्थापनमा चुनौती महसुस गर्दै एडिबीले पटक-पटक म्याद थप गर्दै ल्यान्डफिल्ड साइट निर्माण गर्ने मौका दिए पनि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसकेपछि रकम फिर्ता भएको आयोजनाको परामर्शदाता सोइल टेस्ट विलिंक अभियान विम (स्वाब) कन्सल्टेन्ट प्रालि संयुक्तका सुपरभिजन इन्जिनियर शत्रुघनप्रसाद चौधरीले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिसोर साहले ल्यान्डफिल्ड साइटका लागि जग्गाको खोजी भइरहेको बताए।
तीन सातादेखि व्यक्तिगत जग्गामा फाेहाेर
हाल ल्यान्डफिल्ड साइट नहुँदा हाल उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। विगतमा फाल्ने गरिएको जनकपुर उपमहानगरपालिका–१८ कन्कपट्टीमा ठाउँ भरिएपछि फाेहाेर फाल्नका लागि उपमहानगरपालिकाकाे आफ्नै डम्पिङ साइट छैन।
उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख उपेन्द्र साहले ल्यान्डफिल्ड साइट नहुँदा उपमहानगरको फोहोर संकलन र व्यवस्थापन गर्न कठिनाइ भएको बताए। 'विगत तीन सातादेखि उपमहानगरकाे वडा नम्बर २० देवपुरारुपैठा स्थित केही व्यक्तिको निजी जग्गामा रहेकाे खाल्डाे पुर्न फोहोर फाल्दै आएका छाैं', साहले भने, 'ल्यान्डफिल्ड साइटकाे वैकल्पिक व्यवस्था हुन नसक्दा यस्ताे अवस्था आएकाे हाे।
फोहोर संकलन र सरसफाइका लागि उपमहानगरमा एक सय २५ जना कर्मचारी कार्यरत छन्।
एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैयाँ ऋण सहयाेगमध्ये १ अर्ब १५ करोड लगानीमा जनकपुर उपमहानगरपालिका क्षेत्रको ढल निकासका लागि काम भएकाे छ। साे याेजनाअन्तर्गत ह्युमपाइप गाडेर ३१ किलोमिटर ड्रेन नाला निर्माण र ९ किलोमिटर सडक विस्तार गरी कालोपत्रे गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।