काठमाडौं– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित उदय शमशेर राणाले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
निर्वाचित भएपश्चात् सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतिनिधिहरूले व्यक्त गरेको विश्वास र सुम्पिएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण तथा देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन्।
राणाले यो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा भन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा लिएको बताएका छन्। लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा ग्रहण गरेको उनको भनाइ छ।
प्रतिस्पर्धामा अनेक विचार भए तापनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता नै नेपाली कांग्रेसको सुन्दरता भएको उल्लेख गर्दै राणाले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।