काठमाडाैं- भारतबाट सामान आयात गर्न अब महिना दिनसम्म कुर्नु नपर्ने भएको छ।
भारतबाट आयात हुने सामान केही दिनमै नेपाल भित्रिने गरी दुई मुलुकबीच ‘अनलाइन क्लियरिङ सिस्टम’मा हस्ताक्षर हुने समझदारी भएसँगै भारतबाट आयात हुने सबै सामग्रीहरु कम खर्च र थोरै समयमै नेपाल भित्रिने भएको हो।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी विगतमा भारतको कोलकत्ताबाट वीरगञ्जसम्मको ढुवानी गर्न करीब १ महिना लाग्दै आएकोमा सो समझदारी गरेपछि एक हप्ताभित्र सो सामान नेपालमा ढुवानी हुने जानकारी गराएको हो।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरेर तयार पारिएको ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम’बाट सो सामान नेपालमा एक हप्ताभित्रै भारतको कुनै पनि ठाउँबाट ढुवानी गर्न सकिने महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ।
आगामी फागुन ३ गतेबाट लागू हुने गरी सो व्यवस्था सञ्चालनमा ल्याउन लागिएको नेपाल कार्गो व्यवसायी संघका अध्यक्ष प्रकाशसिंह कार्कीले बताए। सो व्यवस्था लागू भएसँगै ढुवानीको लागत पनि घट्नेछ। समय र लगानी दुवै घट्ने गरी सो प्रणाली सञ्चालनमा ल्याउन लागिएको पनि महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।