घामको फूल बोकेर ऊ उक्लियो हाम्रो पहाड
र सेलोसँगै केही आयामिक नृत्य देखाएपछि भन्यो,
'म तिम्रो आकाशमा उध्रिएको एकथान श्वेत स्विटरको परिधि हुँ
चाहन्छौ भने प्रेमको कुरुशले उनिदिनु
नत्र सबै उधारिदिनु
म तिम्रो खलियानमा असरल्ल परेको बाली हुँ
चाहन्छौ भने दाइँ गर्नु र सँगाल्नु
नत्र आगो लाइदिनु
म त तिम्रो अँगेनाको निभेको कोइला हुँ
चाहन्छौ भने झोसिदिनु बैंसको झिल्को
नत्र पानी खन्याइदिनु'
कतिकति शब्दका पुष्प उसले
बारम्बार देखायो इमोस्नल घुर्क्याइ
पटक–पटक बन्यो नारायण गोपाल र सुनायो ट्र्याजेडी गीत
मैले पत्याइदिएँ
ऊ फूल बोकेर आएको कुरा र सिउरिदिएँ कपालमा
मैले मानिदिएँ
ऊ उध्रिएको धागो हो
र चलाइदिएँ कुरुश फाटेको जिन्दगीमा
मैले सँगालिदिएँ छरपष्ट सपनाहरू
र हिँड्न सिकाएँ विपनामा
बैंसको स्पर्श मात्र उसको लागि थियो
हो, मैले सबै सबै पत्याइदिएँ
समय बुर्कुसी मारेर कुद्यो
र आइपुगेको छ जिन्दगीको मध्यान्तरमा
यतिखेर ऊ
अरु कसैलाई दोहोर्यारहेछ उपरोक्त पंक्तिहरू
र मलाई लगाएको छ पूर्णविराम
कुरा यतिकैमा सक्किनुपर्ने हो
तर किन ऊ लगातार मेरो संवेदनामा घन ठोक्छ?
र इन्बक्समा सोध्छ
अचेल तिमीलाई सन्चै छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।