काठमाडाैं- भन्सार विभागले प्रविधिको अभावमा भन्सार जाँच व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएको छ।
मुलुकमा चोरी निकासीका सामानहरु भित्रिने क्रम बढेको गुनासो आइरहेका बेला भन्सार विभागका महानिर्देशक तोयम रायाले प्रविधिको अभावमा भन्सार नाकाहरुमा जाँचको कामलाई व्यवस्थित बनाउन नसकिएको स्वीकारे।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला सीमाका कारण पनि नेपालमा भारतबाट चोरी निकासीको सामान आउने गरेको पाइएपनि त्यसलाई नियन्त्रण गर्न आवश्यक पूर्वाधारकै अभाव रहेको पनि स्मरण गराए।
महानिर्देशक रायाले भन्सार नाकाहरुबाट हुने चोरी निकासी नियन्त्रणका लागि मालबहाक ट्रकहरु 'इन्ट्री' गर्ने प्रणाली सुरु गरिएको पनि जानकारी दिए। वीरगञ्ज भन्सारमा लागू गरिएको सो प्रणाली देशका सबै भन्सार नाकाहरुमा पनि लागू गर्ने महानिर्देशक रायाको योजना छ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधारको अभावमा भन्सार नाकाहरुले काम गर्न नसकेको बताए। उनले नेपालको भन्सारको पूर्वाधार कमजोर भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।
महासंघले भन्सार नाकाहरुको पूर्वाधार राम्रो नभएका कारण व्यवसायीहरुले सामान आयात/निर्यात गर्दा हैरानी व्यहोर्नु परेको गुनासो गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।