लण्डन- नेपाल संवत् ११३८ को अवसर पारी पासा पुच: गुठी बेलायतले विशेष कार्यक्रम गरेको छ।
गुठीको समन्वयमा बेलायतका विभिन्न सहरमा म्हपूजा गर्नुका साथै नयाँ वर्ष पनि मनाइयो। परम्परागत समयबजीबाट सुरु गरिएको कार्यक्रममा नेवारी परम्पराअनुसार आत्मापूजा गरिएको थियो।
नेपालबाहिर पनि आफ्नो संस्कृति मनाउन पाएकोमा अल्डेर्शोट ब्रान्चका सचिव पर्शुराम बागडामी खुसी देखिन्थे। आफूभन्दा पछिका पुस्तालाई पनि यस्तो कार्यक्रमले संस्कृति जगेर्नाका लागि प्रोत्साहन मिल्ने उनले बताए।
१७४ मन्डप तयार पारी सामूहिक म्हपूजा गरिएको कार्यक्रममा तीन सय जनाको सहभागिता रहेको अल्डेर्शोट शाखा अध्यक्ष राजन मल्लले बताए। पाँचौं वर्ष पनि यसरी आफ्नो सांस्कृतिक पर्व मनाइएको उनले जानकारी दिए।
लण्डनको प्लम्सटेडमा आयोजित कार्यक्रममा गुठीका प्रेसिडेन्ट कुमार श्रेष्ठ, बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि तृतीय सचिव भूपेन्द्र घिमिरे लगायत समेत सहभागी रहेको पुच:का कोषाध्यक्ष निर्झर बिमोहन श्रेष्ठले बताए।
परम्परागत धिमे बाजासँगै मन्जुश्री नृत्य, लाखे नाच, भैरवनाथ, महालक्ष्मी र भुच्चा नाचसमेत सो अवसरमा प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।