काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले नेकपा एमाले र माओवादी केन्द्र नाम मात्रको पार्टी रहेको बताएका छन् । उनले दुवै दल व्यापारिक घराना बनिसकेको टिप्पणी गरेका छन्।
नेपाल लाइभसँगको संवादमा आचार्यले एमाले र माओवादीले कम्युनिस्टको चरित्र धेरै अगाडि गुमाएको र पछिल्लो समय राजनीतिक पार्टीको आचरण समेत गुमाएको आरोप लगाए।
‘कार्यकर्ताबाट लेवी उठाउने एमाले जस्तो पार्टी मेडिकल कलेज खोल्ने, अस्पताल खोल्ने र हाइड्रो पावर निर्माणमा लागेको छ । कर्पोरेट बडीको रुपमा कम्युनिस्ट पार्टीहरु विस्तार हुँदै छन्’, नेता आचार्यले भने ।
एमाले र माओवादी जस्ता पार्टी संस्थागत भ्रष्टाचारमा लागेको कुरा गर्दा आफूलाई राम्रो नलागेको पनि आचार्यले बताए।
जनयुद्ध गरेर माओवादी केन्द्र पनि पछि संस्थागत भ्रष्टाचार र कर्पोरेट व्यापारीको रुपमा देखा परेको आचार्यले बताए । उनले मेडिकल कलेजदेखि डिपार्टमेन्ट स्टोर र हाइड्रो पावरमा समेत उसले पार्टीगत लगानी बढाउँदै आफूलाई व्यापारिक घरानाको रुपमा विस्तार गरेको टिप्पणी गरे।
राजनीतिक दलको चरित्र गुमाएका कारण उनीहरुले लगानीको सुरक्षा गर्न नसक्ने र जनताको आवश्यकता पनि पूरा नगर्ने आचार्यको दाबी छ।
‘जो आफैं सरकारमा बसेर व्यापार गर्छ, उसले कसरी लगानीको सुरक्षा गर्न सक्छ ?’ आचार्यले प्रतिप्रश्न गरे।
आसन्न निर्वाचनका लागि एमाले र माओवादीले गरेको वाम गठबन्धन पनि व्यापारीहरुको कार्टेलिङ गर्न निर्माण भएको आचार्यले आरोप लगाए । कम्युनिस्ट पार्टी विश्वभर असफल हुँदै गएको अवस्थामा नयाँ प्रयोग गरेर नेपाललाई असफल राष्ट्र बनाउने तयारीसहित यस्तो गठबन्धन निर्माण भएको उनको आरोप छ।
‘एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने र संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति राख्दै देशमा अधिनायकवाद सुरु गर्ने असफल तयारी हो यो’, उनले भने।
जनताले लोकतन्त्रको अन्तिम पहरेदार कांग्रेस भएको कुरा बुझेकाले अहिलेको गठबन्धनबाट आफूहरु नआत्तिएको आचार्यले बताए।
कांग्रेस नेता आचार्यसँग रुपेश श्रेष्ठले गरेको कुराकानीको पूरा भिडियो वार्ता नेपाल लाइभमा प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।